राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक एवम् प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेतलाई ‘सूर्यभक्त पतना देवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाल प्रेस युनियन नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुर शाखाका अध्यक्ष वीरेन्द्र पराजुलीले कार्यकारी सम्पादक बस्नेतलाई बिहीबार सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । पुरस्कारको राशि रु २५ हजार रहेको छ । पुरस्कारका लागि छनोट हुनुभएका बस्नेतले राष्ट्र पुकार साप्ताहिकबाट पत्रकारिता आरम्भ गर्नुभएको हो । उहाँ साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ । कानुनमा स्नातक र आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर बस्नेतले यसअघि राससको प्रमुख समाचारदाता र सञ्चालक समिति सदस्यको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
यसैगरी सोही पुरस्कार नेपाल टेलिभिजनका अध्यक्ष एवम् नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाह, बिबीसी नेपाली सेवाका ईश्वर जोशी र डा भूमिराज चापागाईँलाई समेत प्रदान गरिने प्रेस युनियनका जिल्ला सचिव खगराज सापकोटाले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।
प्रजातन्त्र सेनानी एवम् नेपाली कांगे्रसका नेता सूर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवी अधिकारीको स्मृतिमा उक्त पुरस्कारको स्थापना गरिएको हो । उहाँका छोरा तथा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सो पुरस्कार स्थापना गर्नुभएको हो । आगामी जेठ ५ गते नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको ११औँ अधिवेशनका अवसरमा उक्त पुरस्कार प्रदान गरिने छ ।
राष्टिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक तथा प्रदेश तथा जिल्ला ब्यूरो प्रमुख सूर्यचन्द्र बस्नेत त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक तथा पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर हुनुहुन्छ । यसअघि राससको प्रमुख समाचारदाता र राससको वोर्ड सदस्य हुनुभएका बस्नेत साढे दुई दशकदेखि राससमा आवद्ध हुनुहुन्छ । नेपाल प्रेस इन्स्टिच्यूटबाट दश महिने पत्रकारिता तालिम लिनुभएका उहाँ हाल सेफर्ड कलेज बानेश्वर काठमाडौमा पत्रकारिता विषय पढाउनुहुन्छ भने पूर्वाञ्चल विश्वविद्यालय कला संकाय अन्र्तगत आमसञ्चार तथा पत्रकारिता विषयगत समितिको सदस्यका रुपमा कार्यरत हुनुहुन्छ । यस अघि उहाँले सुप्रिम कलेज सामाखुशीमा पत्रकारिता विषय पढाउनुभएको थियो ।
राष्ट्रपुकार साप्ताहिकको तनहुँ संवाददाताका रुपमा झण्डै तीन दशक अघि पत्रकारिता सुरु गर्नुभएका उहाँले नेपाल समाचारपत्र, हिमालय टाईम्स, आदर्श समाज दैनिक, घटना र विचार साप्ताहिक, नेपालवाणि साप्ताहिकको जिल्ला संवाददता र तनहुँ आवाजको उपसम्पादक एवम् नवव्यासवाणी साप्ताहिकको सम्पादक भएर काम गर्नुभयो । नेपाल पत्रकार महासंघ रासस शाखाको सभापति र प्रेस युनियन तनहुँका सभापति रहुनुभएका बस्नेतले इन्टरनेट युगमा समाचार समितिको औचित्य विषयमा शोधग्रन्ध लेख्नुभएको छ । रासस पत्रकारिता पुरस्कार, पोखरा रोयल सहकारी क्षेत्रीय पत्रकारिता पुरस्कार, आरसी कृषि पत्रकारिता पुरस्कार, जीपी कोइराला सक्रिय पत्रकारिता पुरस्कारलगायतबाट उहाँ यसअघि पुरस्कृत हुनुभएको छ ।
यसअघि सो पुरस्कारबाट नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष किशोर नेपाल, राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षय धर्मेन्द्र झा, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहाल, नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्ले र पूर्व महासचिव पोषण केसीलगायत पत्रकार सम्मानित भइसक्नुभएको छ ।