तनहुँको भानु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाका अनुसार चैत्र २४ गतेको स्थानीय भू–उपयोग परिषद बैठकले भानु नगरपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ । नगरपालिकाले १३ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।
भूउपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९ अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।

नियमअनुसार भानु नगरपालिकाको जग्गालाई कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन क्षेत्र, नदी–खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ । सोहि अनुसार नगरपालिकाले कृषि क्षेत्र, आवासीय, व्यावसायीक क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र, नदी–खोला तथा सिमसार क्षेत्र, सार्वजनिक क्षेत्र र सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्रमा वर्गीकरण गरिएको नगरपालिकाले जनाएको छ ।
जग्गाको वर्गिकरण गर्दा ऐन र नियमावली, नापी विभागको भूउपयोग योजना र स्थानीय आवश्यकताको आधार बनाईएको नगरपालिकाकी उप प्रमुख उमा गोतामेले बताउनुभयो ।

कृषि क्षेत्र अन्तरगत अन्नबाली, दालहन, तेलहन लगाएतका बाली लगाइएको क्षेत्र र बाँझो तथा भविश्यमा खेती हुने क्षेत्र रहेका छन् भने आवास क्षेत्र अन्तरगत डुम्रे बेशीशहर राजमार्गको मापदण्ड भन्दा बाहिर दायाँ बायाँ ५० ५० मिटर, अन्य भित्रि सडकको मापदण्ड भन्दा बाहिर ४० ४० मिटर दायाँबायाँ र आवास गरिरहेको क्षेत्र रहेका छन् । भानु नगरपालिकाले आफ्नो क्षेत्र भित्र ८ क्षेत्रमा वर्गिकरण गरी नगरपालिकाको राजपत्रमा उल्लेख गरिएको छ । वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाइ पत्राचार गरीएको नगरपालिकाका प्रमुख त्रिपाठीले जानकारी दिनुभयो ।
गत वर्षको जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो भने सरकारले गत बैशाख ५ गते मात्रै परिमार्जन सहित कित्ताकाट खोल्ने मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । तालुकदार भूमि ब्यवस्था मन्त्रालयको प्रस्ताबमा मन्त्रिपरिषदको बैठकले कित्ताकाट खोलेर घरजज्गा कारोबार सहज बनाउने निर्णय गरेको थियो ।