तनहुँ व्यास नगरपालिका ११ घाँसीकुवा देखि भानु नगरपालिका ७ चन्द्रावती जोड्ने बागेश्वरी मोटर मार्गमा सोमबार पहिलो पटक बस पुगेपछि स्थानीयले खुशि भएका छन् । २०४८ सालमा सुरु गरिएको उक्त मोटरमार्गमा पहिलो पटक ना ६ ख ४१३६ नम्बरको बस लगिएपछि बस चालक किशोर गुरुङ, बागेश्वरी मोटरमार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्का, मोटरमार्गका अध्यक्ष विवेक भट्टराई लगायतलाई स्थानीयले अविरजात्रा सहित स्वागत गरेका हुन् । सवारीसाधन संचालन नहुँदा दमौली आउन घण्टौं पैदल हिड्नुपर्ने अवस्था रहेको भानु नगरपालिका ६ वागेश्वरी आमा समुहकी अध्यक्ष विन्दु वाग्लेले बताईन् । करिव ३० बर्ष अघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस संचालन हुनुले स्थानीयलाई ठुलो राहत पुगेको उक्तमोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । घाँसीकुवादेखि भानु नगरपालिका ६ पड्केपसलसम्म १४ किलोमिटरसम्म बागेश्वरी मोटरमार्ग पर्दछ । तर थप ९ किलोमिटर पक्कि सडक खण्ड हुँदै बसलाई दैनिक चन्द्रावतीदेखि दमौली र दमौलीदेखि चन्द्रावतीसम्म गरिने बागेश्वरी मोटरमार्ग उपभोक्ता समितिले जनाएको छ । उक्त मार्गमा बस संचालन हुनुअघि चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली जानुपर्ने अवस्था थियो । चन्द्रावतीदेखि डुम्रे हुँदै दमौली पुग्न ३४ किलोमिटर तय गर्नु पर्नेमा यस मार्गबाट २३ किलोमिटरमै दमौली पुगिन्छ ।