तनहुँको आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन् ।गाउँ कार्यपालिकाको बैठकबाट नयाँ शैक्षिक सत्रबाट जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय भएपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २ छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेका छन् । छोरा अनुराग चुमानलाई आँबुखैरेनी गाउँपालिका–२ स्थित अन्नपूर्ण प्राथमिक विद्यालयमा २ कक्षामा र छोरी अक्षरा चुमानलाई आँबुखैरेनी–३ स्थित रामशाह माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना गराएको अध्यक्ष चुमानले जानकारी दिए ।

अध्यक्ष चुमानका छोराछोरी यसअघि आँबुखैरेनी गाउँपालिका–३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलमा अध्ययन गर्दथे । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानअन्तर्गत जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरिएको जनाउँदै उनले भने, ‘हालसम्म ५ जनप्रतिनिधिले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराइसक्नुभएको छ, भर्ना गराउने क्रम जारी छ ।’आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले २ छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्दैछन् । गाउँपालिकाका प्रवक्ता प्रेमबहादुर गुरुङका अनुसार गाउँपालिकाका ३२ जनप्रतिनिधिले छोराछोरी एवं नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न लागेका छन् ।

गाउँपालिकाले विक्रम संवत् २०८० साललाई सामुदायिक विद्यालयको शिक्षा रूपान्तरण अभियानका रूपमा अगाडि बढाउँदैछ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने चुमानले जानकारी दिए ।आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । ‘सामुदायिक विद्यालयको स्तर सुधार्नुपर्छ भनेर भाषणमा त भन्छौं, व्यवहारमा उतार्दैनौं, अब जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएका छौं,’ उनले भने, ‘यसले गर्दा सरकारी विद्यालयप्रति अपनत्व बढ्छ ।’