सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दास सहित तीनजना पक्राउ गरेका छन् ।
६ कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटना स्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बताएका थिए । तर अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले बताए ।
इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।डीएसपी रायका अनुसार ऋण चुक्ता गर्न योजनावद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन् । घरव्यवहार चलाउन शिव शंकर र कोशिलादेवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् । शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् ।
त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् ।
योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०\२० लाखको बिमा गराए ।
५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको र करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेको खुलेको डीएसपी रायले बताएका छन् ।
आफ्नो पति शिवशंकरको मृत्यु पश्चात कोशिलाले करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवी सहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।