दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले व्यास ३ स्थित व्यास गुफा परिसरमा ढुंगे धारा निर्माण गरेको छ । पुरानो धारा जीर्ण अवस्थामा रहेकाले धारालाई क्लवले पुर्ननिर्माण गरेको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । व्यास गुफा क्षेत्रमा आउने भक्तजन एवं सर्वसाधारणलाई स्वच्छ खानेपानी पिउने व्यवस्थाका लागी रोटर्याक्ट धारा निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
उक्त रोटर्याक्ट धारा करिब रु ५ लाख खर्चमा निर्माण भएको क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए । धारा निर्माणका लागी रोटरी डिष्ट्रीक ३२९२, व्यास नगरपालिका, रोटरी क्लव अफ दमौली र रोटर्याक्ट क्लवका सदस्य र सदस्यका परिवारहरुको आर्थिक सहयोग रहेको क्लबका सचिव श्रेष्ठले बताए ।
सो रोटर्याक्ट धाराको शनिबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले पवित्र स्थलमा आकर्षक ढुंगे धारा निर्माणले धार्मिक पर्यटनलाई आकर्षण गर्ने बताए । व्यास क्षेत्रको विकासमा रोटर्याक्ट क्लब अफ दमौलीले एउटा इट्टा थप्ने काम गरेकोमा नगरप्रमुख न्यौपानेले खुशी व्यक्त गरे ।
सो अवसरमा रोटर्याक्ट धारा निर्माणमा सहयोग गर्ने संघ सस्था र सहयोगी दाताहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको क्लबले जनाएको छ ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री, व्यास(३ का वडाध्यक्ष अनुप राना, व्यासका अध्ययता काशिनाथ न्यौपाने, रोटरी क्लब अफ दमौलीकी उपाध्यक्ष विणा कैनी, इनरव्हिल क्लब अफ दमौलीकी पुर्वअध्यक्ष सरु श्रेष्ठ, महिला उधमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, क्लबका पुर्व अध्यक्ष मनोज राउत लगाएतले धार्मिक क्षेत्रमा खानेपानीको सहज पहुच हुनु अत्यत्तै राम्रो भएको बताए ।
धारा निर्माण संगै निरन्तरता र संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा समेत उनीहरुको जोड थियो ।