धनुषाको बटेश्वर गाउँपालिका-१ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा गत साउनदेखि कक्षा ९ र १० मा अंग्रेजी र सामाजिक विषयका शिक्षक छैनन्। विषय शिक्षक नभएपछि यी विषयहरू अहिले पढाइ हुँदैन। विद्यार्थीहरूले अंग्रेजी र सामाजिक विषयका शिक्षक व्यवस्था गर्न प्रधानाध्यापक आग्रह गरे। धेरै पटकको आग्रहमा पनि विषय शिक्षकको व्यवस्था भएन। विद्यालय शिक्षा परीक्षा (एसइई) आगामी चैत १७ गते सुरू हुनेछ।  

एसइई नजिकिँदै जाँदा कक्षा १० का विद्यार्थीहरूले स्थानीय जनप्रतिनिधिहरूलाई आफ्नो समस्या सुनाए। प्रधानाध्यापकलाई पनि आग्रह गरिरहे। गत माघ २१ गते प्रधानाध्यापक श्याम सिंहले विद्यार्थीहरूलाई विषय शिक्षक गाउँपालिकाले पठाइदिनु पर्ने बताए। लगत्तै कक्षा ९ र १० विद्यार्थीहरूको एउटा हुल वडा कार्यालय पुग्यो। वडाध्यक्ष अशोककुमार महतो नभेटिएनन्। विद्यार्थीहरूले उनीविरुद्ध नाराबाजी गरे। सडकमा टायर बालेर विरोध प्रदर्शन गरे। वडा कार्यालयमा सामान्य तोडफोड पनि भयो।

यसपछि विद्यार्थीहरू गाउँपालिका कार्यालय घेर्ने भन्दै अघि बढ्दा प्रहरीले उनीहरूलाई रोकेर परिस्थिति नियन्त्रणमा लियो। बटेश्वर गाउँपालिकामा शिक्षक माग गर्दै विद्यार्थीले आक्रोश पोखेको यो पहिलो घटना थिएन। गत पुस पहिलो साता पनि वडा नम्बर ४ स्थित शिवशक्ति उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। विद्यालयले चर्को शुल्क लिएर पनि केही विषय पढाइ नगरेको र शुल्क लिएको बिल नदिएको विद्यार्थीहरूको आरोप थियो।

प्राविधकतर्फ हरेक विद्यार्थीले अन द जब ट्रेनिङ (ओजिटी) बापत जनही तीन हजार रुपैँया पाउनुपर्नेमा त्यो पनि नपाएको उनीहरूको भनाइ थियो। अवस्था तनावपूर्ण बनेपछि गाउँपालिका कार्यालयले प्रहरी बोलाएर माग पूरा गर्ने आश्वासन दिई विद्यार्थीलाई फिर्ता पठाएको थियो।  विद्यार्थीको माग अझै पूरा भएको छैन।

गत माघ १८ गते धनुषाको शहीदनगर नगरपालिका–७ स्थित जनता मावि, धबौलीका विद्यार्थीहरूको आन्दोलन नियन्त्रण बाहिर गयो। नियमित पठनपाठन, छात्रवृत्ति, प्रयोगशाला कक्षा लगायतको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले प्रधानाध्यापक श्रीप्रसाद यादवलाई मोसो दलिदिए।पछिल्लो समय धनुषामा विद्यार्थीले पठनपाठन, छात्रवृत्ति वितरण लगायतमा नियमितता माग गर्दै आन्दोलन गर्ने विद्यालयको संख्या बढ्दै गएको छ। शैक्षिक अवस्थामा बेथिति बढेको भन्दै विद्यार्थीहरू आक्रोशित भएर आन्दोलनमा उत्रिन थालेका छन्।

मधेश प्रदेशमा शिक्षा क्षेत्रमा काम गर्ने डा. सोहन साह शिक्षा क्षेत्रमा दीर्घकालीनरूपमा नकारात्मक प्रभाव पर्ने बताउँछन्। उनी भन्छन्, ‘हरेक विद्यालयमा विद्यार्थीले देखासिकी गरेर आन्दोलन गर्न थाले भने स्कुल शान्ति क्षेत्र रहने छैन।’ मधेशमा विद्यालय व्यवस्थापन समिति राजनीतिकरूपमा गठन हुँदा त्यसले विद्यालयमा ठूलो समस्या सिर्जना भएको उनको बुझाइ छ। ‘तराईंका धेरै विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन विवादित बन्ने गरेको छ। यसको सम्बन्ध सिधै राजनीतिसँग हुँदो रहेछ,’ उनी भन्छन्, ‘व्यवस्थापन समिति प्रभावकारी नहुँदा विद्यार्थीले आन्दोलन गर्नुपरेको छ।’

साहका अनुसार आन्दोलन भएका अधिकांश विद्यालयका घटना प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विद्यालय व्यवस्थापन समितिसँग सम्बन्धित रहेको छ। बटेश्वर गाउँपालिका शिक्षा शाखा प्रमुख रामलाल महतोका अनुसार बटेश्वरका लक्ष्मी माध्यमिक विद्यालय र शिवशक्ति माध्यमिक विद्यालयमा व्यवस्थापन समिति नहुँदा शिक्षक नियुक्तिमा ढिलाइ भएको हो। समिति गठनका लागि कयौँ पटक औपचारिक र अनौपचारिक बैठक बसेको छ तर दलहरूबीच सहमति हुन नसक्दा काम हुन सकेको छैन। त्यसले शिक्षक ल्याउन ढिलाइ भएको महतोको भनाइ छ।

माध्यमिक तहसम्म शिक्षाको अधिकार स्थानीय तहमा हस्तान्तरण भएअनुसार काम हुन नसक्दा बेतिथि बढेको डा. साहको भनाइ छ। ‘धेरै स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सकेनन्। संघीय शिक्षा ऐन नबनेकाले पनि अन्योल भएको छ। केही स्थानीय तहले अहिलेकै संघीय शिक्षा ऐनअनुसार छुट्टै ऐन बनाएका छन् तर राम्रो काम गर्न सकेका छैनन्’ उनी भन्छन्, ‘शिक्षा सुधारमा प्रदेश सरकारले पनि काम गर्न सकेको छैन।’

जिल्ला शिक्षा समन्वय एकाइ, धनुषाका प्रमुख युक्तप्रसाद शर्माले विद्यार्थीहरूले नियमित पठनपाठन माग गरेर निरन्तर आन्दोलन गरिरहेको आफूले सुनेको बताए। उनका अनुसार धेरैजसो ठाउँमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या न्यून भएकाले पनि समस्या भएको हो। ‘विद्यालयहरू हामी (जिल्ला शिक्षा समन्वय एकाइ) सँग शिक्षक माग्छन्। हामीले शिक्षक दिने अवस्था छैन। पढ्न नपाउँदा विद्यार्थीहरूले आन्दोलन गर्नु स्वाभाविक हो।’

उनका अनुसार केही विद्यालयले आफ्नै स्रोतले शिक्षक भर्ना गर्ने गरेका छन्। स्थानीय सरकारले दिनुपर्ने शिक्षक दिएका छैनन्। दिएकाले पनि पर्याप्त दिन सकेका छैनन्। स्थानीय तहमा जनप्रतिनिधिहरू बीचको विवादले शिक्षकहरू पनि आन्दोलनमा उत्रिने गरेका छन्। यसले पनि पठनपाठनमा असर परेको छ।जनप्रतिनिधिबीचको विवादका कारण नगराइन नगरपालिकाका शिक्षकले गत मंसिर १५ गतेदेखि झन्डै साढे एक महिना आन्दोलन गरे। उक्त अवधिमा नियमित पठनपाठन भएन।

पठनपाठनको माग गर्दै विद्यार्थीहरू पनि आन्दोलनमा उत्रेका थिए। स्थानीय तहले समुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न खासै चासो नदिँदा बाध्य भएर विद्यार्थी निरन्तर आन्दोलन गर्नुपरेको केही शिक्षकहरूको भनाइ छ।