जिल्ला ट्राफिक कार्यलय तनहुँले भाडा लिष्ट नटाँस्ने करिब दुई सय सार्वजनिक सवारी साधानलाई कारबाही गर्न थालेको छ । यात्रुसंग जथाभावी भाडा असुलेको जनगुनासा आउन थालेसंगै प्रहरीले भाडामा एकरुपता कायम गर्न भाडाको लिष्ट टाँस्ने अभियानलाई तीब्रता दिएको हो ।

दुई दिनमा करिब दुई सय सवारीसाधानलाई कारबाही गर्दा रु.एक लाख राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका इन्चार्ज प्रहरी नायव निरीक्षक राजीब बिष्टले जानकारी दिए ।उक्त सवारीसाधानलाई लापरबाही अन्तगर्त रु.पाँच सय जरिवाना गरी भाडादर लिष्ट टास्न लगाइएको छ ।

दमौलीबाट संचालित सबै बसमा भाडादर लिष्ट टास्न दिएपनि केही बस व्यवसायीले नटास्ने र यात्रुसंग जथाभावी भाडा असुलेको गुनासा आउन थालेको पृथ्वीराजमार्ग बस संचालक समिति दमौलीका शाखा प्रमुख शम्भु बस्नेतले जानकारी दिए । भाडादरमा एक रुपता कायम गर्न थालिएको यस अभियानमा बस व्यवसायीले नियम पालना गदै कार्यन्वयनमा ल्याउन आग्रह गरिएको उनले बताए ।

त्यसैगरी मोटरसाइकलको स्वरुप परिवर्तन गरी आवाज ठुलो बनाई बस्तीमा आतंकित बनाउने मोटरसाइकललाई पक्राउ गरी कारबाही गर्न थालिएको छ ।यस्ता मोटरसाइकलाई रु.पाँच हजारसम्म जिल्ला ट्राफिक कार्यलयले जरिवाना गर्न सक्ने र सो भन्दा बढी जरिवानाको लागि यातयात व्यवस्था कार्यालय डुम्रे पठाउने गरिएको छ ।

त्यसैगरी पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारीसाधान चलाउनेको संख्या पनि बढ्दै जान थालेपछि सवारीसाधान चेकजाँच कार्यलाई निरन्तरता दिइएको र ट्राफिक नियम बिपरीत सवारीसाधान चलाउनेको संख्या पनि कमि नरहेको प्रहरी नायव निरीक्षक बिष्टले जानकारी दिए ।