बन्दिपुरको विकासका लागि महत्वपूर्ण आयोजनालाई बजेटको व्यवस्था गरिदिन बन्दिपुर गाउँपालिकाले बिभिन्न संघिय मन्त्रालयहरुमा माग गरेको छ । बिकासका लागी आवश्यक इस्टिमेट बजेट सहित गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा सहितको टोली यत्तीबेला बजेट मागको लागी मन्त्रालयहरुमा भेटघाट र छलफलमा ब्यस्त रहेका छन् ।
बन्दिपुर गाउँपालिकाले पर्यटन मन्त्रालयका मन्त्री सुदन किराँतीलाई मागपत्र बुझाउँदै बन्दिपुरको पर्यटन प्रवद्र्धनको लागी महत्वपूर्ण भूमिका खेल्ने योजनाहरु साहसिक खेलहरु बन्जी, जिपलाइन साइकिलिङ, थानीमाइ मन्दिर परिसमा रक गार्डेन बजारमा सडक बत्ति, ढुंगाको छपनी, बिभिन्न पार्कहरु निमार्ण लगायतका पर्यटकिय गन्तब्यलाइ बिकास गर्न बजटेको व्यवस्था गरिदिन माग गरेको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए।
यसैगरी बन्दिपुर हस्पिटललाई व्यवस्थित गर्नुपर्ने, १५ बेडको हस्पिटलका लागि बजेटको व्यवस्था गरिदिन आग्रह साथै बन्दिपुर अष्पतालमा अहिले एक जना मात्र डाक्टर भएको कारण थप डाक्टर पठाइदिने र इसिजि मेसिन तुरुन्त पठाइदिने स्वास्थ्य मन्त्री पदम गिरी संग भेटघाट सहित छलफल भएको छ ।
उपप्रधान, भौतिक पुर्वधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसंग बन्दिपुर धरमपानि सडक कालोपत्रे बन्दिपुर ढाडखोला बुद्धसिंह मार्ग सम्म कालोपत्रे गर्न पहल गर्न योजना पेश गरिएको छ ।
यस्तै बन्दिपुर रिङरोड, प्युघर शिखरडाँडा सडक, साविक घाँसीकुवा हालको बन्दिपुर १ लाई समेट्न पर्ने माग गर्दै शहरी विकास मन्त्रालयका मन्त्री विक्रम पाण्डेसंग बजटेको व्यवस्था गर्न मागपत्र पेश गरिएको छ ।