गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च दमौली तनहुँको

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च दमौली तनहुँको आयोजनामा तिन दिने बाल कथा लेखन कार्यशाला गोष्ठी सम्पन भएको छ । आदिकवि भानुभक्त क्याम्पसको सहआयोजना र व्यास नगरपालिका वडा नं२ को प्रवद्र्धनमा प्रतिष्ठानले बाल कथा लेखन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । उक्त समापन कार्यक्रममा व्यास २ का वडाअध्यक्ष काशीराम श्रेष्ठले बालबालिकाको अन्तरनिहीत क्षमता प्रष्फुटन हुने व्यक्तित्व क्षमता बिकासका लागि यस्ता कार्यक्रममा वडाले सधैं सहयोग गर्ने बताउनुभएको थियो । आदिकवि भानुभक्त क्याम्पसका निमित्त क्याम्पस प्रमुख रामकुमार अधिकारीले समाजमा भएका घटना, परिवेश, भोगाइलाई आधार बनाएर कथा लेख्न सकिने र कथालेखनलाई निरन्तर गनुपर्नेमा जोड दिनुभएको थियो । बालबालिकाको अनुभव, भोगाइ र सिकाइलाई लेखन सीपका माध्यमबाट अभिव्यक्त गराउने उद्देश्यले बाल कथा लेखन कार्यशाला आयोजना गरिएको गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले बताउनुभएको थियो ।

निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हडखलेले यस्ता कथालेखनले बालबालिकाको हौसला बढ्ने काम भएको र क्याम्पसबाट प्रचारप्रचारको लागि साथ रहने बताउनु भयोे । कार्यक्रममा विजयराज आचार्यले प्रशिक्षण गनुभएको थियो । कार्यक्रममा छ जनाले कथावचान गरेका थिए भने के छोरी अभिसाप हो, अन्तरजातिय विवाह, पछुतो , निष्ठुरी दैव जस्ता कथाका शिर्षक रहेको थियो । उक्त कार्यशालामा गोष्ठीमा व्यास नगरपालिकाका विभिन्न विद्यालयका ४० जना भन्दा बढी विधार्थीहरु सहभागी भएका थिए ।उक्त कार्यक्रममा सहभागी बालबालिकालाई प्रमाणप्रत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेलले कार्यक्रम संन्चालन गर्नुभएको थियो ।