उच्च अदालत पोखराले अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको छ । सोमबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले झगडिया झिकाउने आदेश दिएको पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो ।जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।तनहुँ जिल्ला अदालतले भने पल शाहलाई सफाइ दिएको छ ।