जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले ६ महिनामा २२ हजार ७ सय २० सवारीलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्ङगन गर्दै मादक पदार्थ सेवन गरी सवारी चलाउने , बढी भाडा लिने, र नियम विपरित सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो ।
विभिन्न कारण कारवाहीमा परेका सवारीबाट ६ महिनामा रु १ करोड ७७ लाख ६० हजार ५ सय रुपँया राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँका प्रमुख नायब उपरिक्षक राजिप बिस्टले जानकारी दिनुभयो ।
उहाँले श्रावण देखि पौष सम्मको समय अबधिमा उक्त राजस्व संकलन भएको जानकारी दिनुभयो । बिस्टले ६ महिनाको अन्तरालमा जम्मा ४ हजार ४ सय २९ ट्रक तथा टिप्पर कारवाही गर्दा ३३ लाख १४ हजार राजस्व संकलन भएको बताउनुभयो ।
त्यस्तै ३ हजार ९ सय ७२ वटा बस नियन्त्रणमा लिई कारवाही गर्दा २९ लाख ६५ हजार रुपैँया , ५ हजार ९३ कार तथा जिपलाई नियन्त्रणमा लिई कारवाही गर्दा ३८ लाख २१ हजार रुपैँया , १ हजार ४० ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गर्दा ७८ हजार ५ सय रुपैँया, ८ हजार ३१ मोटरसाईकल कारवाही गर्दा रु ६८ लाख २५ हजार रुपैँया राजस्व संकलन भएको र अन्य १ सय ८५ सवारी कारवाही गर्दा १ लाख ३६ हजार राजस्व संकलन भएको बिस्टले बताउनु भयो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, ट्राफिक नियम उल्ङ्गन गर्ने गरेकाले अत्याधिक दुर्घटना हुने गरेको भए पनि हालभने जिल्ला ट्राफिक प्रहरी कार्यलय तनहुँले कडाईका साथ चेकिङ्ग गरेको र ट्राफिकले अपनाएको सावधानीका कारण दुर्घटना नभएको उहाँले बताउनुभयो ।
बिस्टले सवारी चेकजाँच र कारवाहि मात्र नभई जनचेतना मूलक कार्यक्रमहरु पनि संचालन गरेको बताउनुभयो । उहाँले यात्रु सँग ट्राफिक जनचेतना कार्यक्रम, विद्यार्र्थीसँग ट्राफिक सचेतना, चालकसँग एक मिनेट , ठाउँ ठाउँमा सडकको अवस्थाको बारेमा जानकारी, चालक संग प्रहरी जस्ता जनचेतना मूलक कार्यक्रमहरु गरेको बताउनुभयो । उहाँले सडक भनेको दुर्घटना स्थल भएकोले सडक प्रयोग गर्दा ट्राफिक नियमको पालना गरी सब्य र मर्यादित भएर सवारी चलाउन आग्रह समेत गनुभयो ।