तनहुँको पर्यटकीय स्थानहरु मध्ये आँबुखैरेनी गाँउपालिका वडा नं। ५ मा रहेको छिम्केश्वरी धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा विकास हुँदै आएको छ । प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा छिम्केश्वरीलाइ पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै आएको हो ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश, स्थानिय तथा संघिय सरकारको सहयोगमा सडक स्तरउन्नती गरी कालोपत्रेको तयारी गरिएको छ । मन्दिर पुनस् निमार्ण, पोखरी निर्माण, पैदलमार्गमा सिँढी र रेलिङ निर्माण कार्य भएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
छिम्केश्वरी मन्दिरको छानो हाल्ने कार्य, मन्दिर परिसर नजिकै रहेको बूढीदेवीमाईको मन्दिर बनाउने तयारी, मन्दिर प्रवेशद्धार, केही ठाउँमा ढुंगा छाप्ने तथा पर्यटकका लागी नमुना होमस्टे सहित बहुबर्षीय योजना अन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, लगायतका संरचनाका बनाउने आगामी योजना रहेको अध्यक्ष चुमान बताउँछन् ।
यसै गरी छिम्केश्वरीमा निजिस्तरवाट पनि विकासमा थप टेवा पुर्याउने उदेश्य लिइएको छ ।केबलकार निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । छिम्केश्वरीमा केबलकार निर्माणका लागि डिपीआर तयार भएको छ ।’, शर्माले भने, छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रबिन्दु बनाउने उद्देश्यसहित केबलकार निर्माण गर्न लागिएको शर्माले बताए । ‘केबलकार निर्माण भएपछि छिम्केश्वरीको विकासमा थप टेवा पुग्नेछ’, शर्मा भन्छन । छिम्केश्वरी मन्दिरमा अहिले पनि उल्लेख्य मात्रामा भक्तजन आउने गरेकामा केबलकार निर्माणपछि उक्त सङ्ख्या झन थपिने विश्वास गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुन्द्र सतहबाट दुई हजार १३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकन सहित दर्शन गर्न सकिन्छ ।
प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत श्रृृंखला मध्यको अग्लो पहाडको बिशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो ।छिम्केश्वरीको उत्तरतर्फ मनोरम हिमालका दृश्यहरू धौलागिरी, निलगिरी, अन्नपुर्ण, माछापुच्छ्रे हिमचुली लमजुङ्ग, मनास्लु, गणेश, लाङटाङ सहित दर्जनौं हिमाल आँखै अगाडि हेर्न सकिन्छ । साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिने वडा नं ५ का अध्यक्ष सन्तोष गुरुङले बताए ।
जिल्लाकै अग्लो डाँडा छिम्केश्वरीमा करिब ४३ वर्षपछि गतवर्ष हिमपात भएको थियो ।२०३५ सालमा छिम्केश्वरीमा हिमपात भएको थियो । त्यसयता हिमपात भएको थिएन । छिम्केश्वरीमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको समेत चहलपहल बढेको छ ।
छिम्केश्वरी पुग्ने पर्यटकको सहजताका लागी आँबुखैरेनी गाउँपालिका–५ को लाब्दी र भोटेस्वाँरा अनि वडा नं। ६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा पनि स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको हिलेखर्क घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमायाँ गुरुङले जानकारी दिइन । हिलेखर्कमा रहेको दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।
आँबुखैरेनीबाट छिम्केश्वरी जानको लागि १८ किलोमिटर सडकमार्फत ४५ मिनेट को यात्रा तय गरी सजिलै सवारी साधनवाट लाब्धी गाउँ र त्यसपछि ३० मिनेटको पैदल यात्रा गरी पुग्न सकिन्छ । छिम्केश्वरी जान पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँको आँबुखैरेनीसम्म काठमाडौं, पोखरा, चितवन, गोरखा लगायतका ठाउँबाट विविध यातायातका साधनहरू पर्यटकीय बस, सार्वजनिक यातायातका अन्य बस, माइक्रो, जीप कार तथा मोटरसाइकलमा जान सकिन्छ । यस्तै पृथ्वी राजमार्ग अनर्तगत डुम्रे – बन्दिपुर – हिलेखर्क, मार्किचोक – तिलबारी – हिलेखर्क, बरादी( हिलेखर्क हुँदै तथा मुग्लिन नारायणघाट सडकखण्डको ९ किलो र घुमाउनेबाट पनि छिम्केश्वरी पुग्न सकिन्छ ।