नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारीले सुकुम्बासी समस्या समाधान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । त्यसका लागि आफूले निर्वाचित भए लगत्तै सम्बन्धित निकाय झकझकाउने काम गरेको समेत बताएका छन् ।तनहुँ क्षेत्र नं २ का मतदातालाई धन्यवाद दिने क्रममा सोमबार शुक्लागण्डकी नगरपालिकाको विभिन्न स्थानमा आयोजित कार्यक्रममा सांसद भण्डारीले सो कुरा बताएका थिए ।विगतमा क्षेत्र नं २ बाट निर्वाचित जनप्रतिनिधिहरुले अव्यवस्थित र सुकुम्सबासी समस्या समाधान गर्ने खासै ध्यान नदिएको समेत सांसद भण्डारीको भनाई छ । पाँच वर्ष भित्र यस क्षेत्रको अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गरेरै छाड्ने प्रतिवद्धता समेत सांसद भण्डारीले गरेका थिए ।
कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि विचलित नहुन मतदातालाई सांसद भण्डारीले आग्रह गरेका थिए ।कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको समेत सांसद भण्डारीले स्मरण गराएका थिए ।कांग्रेस प्रतिपक्षमा हुँदै गर्दा पनि काम गरेर देखाउने क्षमता आफूमा रहेको सांसद भण्डारीको भनाई थियो । सो अवसरमा क्षेत्रीय सभापति चुडामणि खनाल ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित , क्षेत्रीय सचिव सन्तोष घिमिरे , महिला संघकी उपसभापति चन्द्रकला भट्राई र वडा सभापति ईश्वर शर्मा लगायतले बोलेका थिए ।