तनहुँ जलविद्युत आयोजनाको प्याकेज तीन अन्तर्गत बिद्युत प्रसारण लाइनको टावर निर्माण कार्य तीब्र रुपमा अघि बढाइएको छ । जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको निर्माणधीन जलविद्युत आयोजनाले अट्चालिस वटा टावर निर्माण गरेको हो । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको लागि टावर निर्माण कार्य निरन्तर चलिरहेको आयोजनाले जनाएको छ । थप तीन वटा विद्युत टावरमा काम भैरहेको तनहुँ जलविद्युत आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । आयोजनाको निर्माण कार्य विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । उक्त प्याकेजको काम भारतीय कम्पनी केइसीले ठेक्का पाएको छ । 
प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्राप्ति गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको उनले बताए । 


त्यसैगरी,एक हजार दुई सय मिटर लामो मुख्य सुरुङ्ग खन्नुपर्नेमा हालसम्म सात सय मिटर सुरुङ्ग खन्ने कार्य सम्पन्न भैसकेको छ ।  हाल आयोजनाको प्याकेज एक अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भैरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी,प्याकेज दुई अन्तर्गतको विद्युतगृह खन्ने काम समेत सम्पन्न भएको छ ।  आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ्ग, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । 
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगत विद्यृत्गृहको सुरुङ्ग खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ्ग खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो । 


सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ्ग र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ्ग निर्माण कार्य पनि सम्पन्न गरेको छ ।  कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रु.पचास करोड पचास लाख अमेरिकी डलरको लागि एडीबीले रु.पन्ध्र करोड लगानी गरेको छ ।  त्यसैगरी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु.अठ्ठार करोड चालिस लाख, युरोपियन लगानी बैंकले रु.आठ करोड पचास लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले रु.आठ करोड साठी लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।