व्यास नगरपालिका वडा नं १३ स्थित युगिन कृषि फर्म प्रा लि को नाउँमा रहेको ४० रोपनी जग्गा व्यास नगरपालिका कार्यालयले खरिद गर्ने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिकाको नियमित बैठकमा उक्त निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरुको उपस्थितिमा विभिन्न बिषयमा छलफल र निर्णय गरेको छ ।व्यास नगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ,योजना आयोग विधेयक,वन विधेयक,संघ संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, वातावरणीय तथा प्राकृतिक श्रोत संरक्षण विधेयक,स्वास्थ्य विधेयक ,२०७९ पारित गरेको छ । व्यास नगरपालिकाको सरसफाई एवं आधुनिक कृषि व्यवस्थापन केन्द्र स्थापनाका लागि उक्त जग्गा खरिद गर्ने बिषयमा स्थानीयसंग छलफल एवं समन्वय गरी खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको पालिकाले जनाएको छ ।