यही पुस ११ देखि पुस २० गते सम्म व्यास नगरपालिकाले चौध वटै वडामा एकिकृत घुम्ती सेवा शिबिर मार्फत सेवा प्रदान गर्ने भएको छ । बुधबार एक सुचना निकाल्दै उक्त शिबिर मार्फत सेवा प्रदान गर्न लागेको हो । व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार कोही पनि सेवाबाट बन्चित नहुने उद्दश्येले चौध वटै वडाहरुमा घुम्ती सेवा शिबिर मार्फत सेवा प्रदान गर्न लागेको बताए । उनका अनुसार प्रशासन शाखाबाट सामाजिक सुरक्षा भत्ता कार्ड बितरण,पञ्जिकरण इकाईबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको छ । 

योजना शाखाबाट योजना सम्झौता,किस्ता सिफारिस गरिने छ भने कृषि उपशाखाबाट बालीहरुमा देखापर्ने रोगको जैविक बिषदी बितरण,तरकारीका उन्नत बीउ बितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । त्यसैगरी,स्वास्थ्य तथा जनसंख्या शाखाबाट बिशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण,पाठेघरको मुख र स्तान क्यान्सर परीक्षण,एचआइभी,टिबि,औलो रोग,मधुमेह,उच्च रक्तचाप परीक्षण हुने व्यास नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिएका छन् । कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधी बितरण, स्वास्थ्य समस्याहरुको परामर्श सेवा र दुईबर्ष मूनिका बालबालिकाहरुको बृद्धि अनुगमन र पोषण सम्बन्धि सेवा प्रदान गरिनेछ । 


त्यसैगरी आयुर्वेद इकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधी बितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धि ज्ञान दिइने सो नगरपालिका कार्यालयले जनाएको छ । त्यसैगरी पशु स्वास्थ्य सेवाको लागि उपचार,रोग निदान,माइनर सर्जिकल,पशु स्वास्थ्यका लागि औषधी बितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्न व्यवस्था मिलाइएको छ । महिला बालबालिका तथा समाजकल्याण उपशाखाबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण,अपांगता परिचयपत्र र महिला विकास संम्बन्धि जनचेतना अभिबृद्धि गर्ने कार्यक्रम समेत रहेको छ ।