आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई दुई सय पुगेको थियो ।मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ ।वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताउनुभयो । उहाँले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताउनुभयो । “दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषण गर्नुपर्ने हुन्छ ।” उहाँले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताउनुभयो ।