भरतपुर महानगरपालिकाभित्र कार्यरत स्वास्थ्य स्वयंसेविकालाई मङ्गलबार सम्मान गरिएको छ । बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा महानगरभित्रका दुई सय सात स्वयंसेविकालाई नगदसहित सम्मान गरिएको हो ।बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । प्रदेश सरकारले प्रदेशभरि नै कार्यरत स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत महानगरका स्वयंसेविकालाई सम्मान गरिएको उहाँले बताउनुभयो ।बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र ईश्वर सापकोटाले स्वयंसेविकाले उठाएको जायज मागलाई राज्यले संवेदनशील भएर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले हरेक वर्ष ६० वर्ष नाघेका स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गर्ने गरेको बताउनुभयो ।स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख शान्ताकुमारी पौडेल, भरतपुर महानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख दीपक सुवेदी, स्वयंसेविकाको तर्फबाट सुभद्रा श्रेष्ठलगायतले बोल्नुभएको थियो ।कार्यक्रममा प्रदेश सरकारले प्रदेशभरिका एक सय १९ वटा स्थानीय तहका चार सय ६१ स्वयंसेविकालाई सम्मान पनि गरेको थियो ।