बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने खाँचिकोट दरबार तथा खाँचिकोट भगवती मन्दिरमा पुरातत्व विभागले उत्खनन सुरु गरेको छ ।पृथ्वीनारायण शाहलाई राज्य सञ्चालन तथा एकीकरणका लागि युद्ध कला सिकाउने चन्द्रप्रभावती यसै खाँची राज्यकी राजकुमारी हुनुहुन्थ्यो । सन्धिखर्क नगरपालिका–७ खाँचिकोटमा रहेको यो दरबार तथा मन्दिर ऐतिहासिक शक्ति पीठका रुपमा रहेको छ । पुरातत्व विभाग काठमाडौँ रामशाह पथले गत सोमबारदेखि उत्खनन सुरु गरेको प्रमुख पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बताउनुभयो । ज्ञवालीसहित पाँच सदस्यीय टोलीले ऐतिहासिक दरबारको उत्खनन शुरु गरेको हो । उत्खननका क्रममा दरबारको भग्नावशेष प्राप्त भएको छ । प्राचीन इँटा, झिङ्गटी, चुराका टुक्रा, आधुनिक सिक्का, त्रिशूल, माला लगायतका प्राचीन वस्तुहरु फेला परेको प्रमुख पुरातत्व अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले प्राचीन दरबारमा रहेको पर्खाल भत्काएर नयाँ संरचना बन्न थालेपछि उक्त निर्माण प्रक्रिया रोकेर उत्खनन सुरु गरिएको जानकारी दिनुभयो । प्रमुख पुरातत्व अधिकृतसहित पाँच सदस्यीय टोलीमा पुरातत्व अधिकृत हरिप्रसाद भुसाल, विशेषज्ञ जगत कटुवाल, सहायक फोटोग्राफर रामचन्द्र श्रेष्ठ रहेका छन् । खाँची राज्य नेपाल एकीकरणको समयमा पाल्पा राज्यसँगै एकीरकण भएको थियो । तत्कालीन राज्य रहँदा निर्माण गरिएको इनार अहिले पनि रहेको छ । पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण गर्न, राज दरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने चन्द्रप्रभावतीे खाँची राज्यका तेह्राँै राजा दलजित शाह र रानी सुभद्रावतीकी छोरी हुन् । नेपालको एकीकरण गर्न, राजदरबार सञ्चालन गर्न तथा युद्ध कौशलता सिकाउने उनै चन्द्रप्रभावतीको हात रहेको इतिहासमा उल्लेख छ ।

उहाँको जन्म विसं १७५९ मा खाँचीमा भएको थियो । उहाँको विवाह तत्कालीन गोरखा राज्यका राजा नरभुपाल शाहसँग भएको थियो । गोरखाका राजा नरभुपाल शाह जन्ती लिएर खाँचीमा आई विवाह गरेर गोरखा दरबारमा भित्र्याइएको इतिहास चन्द्रप्रभा माविका शिक्षक तीर्थराज आचार्यले बताउनुभयो । चन्द्रप्रभावतीबाट सन्तान नभएपछि नरभुपाल शाहले दोस्री श्रीमती पाल्पादेखि विवाह गरेर लगेका बताइन्छ । तिनै पाल्पाली राजकुमारी कौशल्याबतीबाट नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । पृथ्वीनारायण शाहको जन्मैदेखि स्याहार सुसार र संरक्षण यिनै चन्द्रप्रभावतीले गरेको इतिहासकारहरु बताउँछन् ।