मङ्गलबार बझाङको तलकोटमा ५ दशमलव ३ म्याग्नेच्युड र चैनपुर केन्द्रविन्दु बनाएर आएको ६ दशमलव ३ म्याग्नेच्युडको भूकम्पमा परी बाजुरामा दुईजना घाइते हुनाका साथै नौ घर पूर्ण रुपमा क्षती भएका छन् ।घाइते हुनेमा बडीमालिका नगरपालिका–९ का प्रलोप डिजी र खप्तड छेडेदह गाउँपालिका–४ घर भई हाल बडीमालिका नगरपालिका–८ मा बस्दै आएका १३ वर्षीय सुन्दर सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते भएका डिजी घर अगाडिको आँगनमा खेल्दै गरेको बेला घरको छतबाट ढुङ्गा खसेर टाउकोमा चोट लागेको छ भने सार्की विद्यालय सञ्चालन भइरहेका बेला भूकम्प आएपछि आत्तिएर दौडिने क्रममा विद्यालयको सिँढीमा लडेर बायाँ हातको हड्डी चर्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।उहाँका अनुसार घाइते भएका दुवै बालकको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । भूकम्पका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा छ घर र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई भूकम्पबाट क्षतिको विवरण सङ्कलनका लागि खटाएअनुसार प्रहरी टोलीले दिएको जानकारीअनुसार खप्तड छेडेदहमा ६ र बूढीगङ्गा नगरपालिकामा तीन घर पूर्ण रुपमा क्षति भएको बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण १३ निजी घर र पाँच सरकारी भवन आंशिक रुपमा क्षति भएका छन् । भूकम्पबाट भएको थप क्षतिको विवरण सङ्कलन र स्थलगत अनुगमनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल भूकम्पबाट प्रभावित क्षेत्रको अनुगमनमा जानसभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भूकम्पबाट जिल्लाका बूढीगङ्गा नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिका प्रभावित बनेका छन् । भूकम्पले दर्जनौँ घर चर्किएर जोखिम हुनुका साथै फेरी भूकम्प आउने डरले खप्तड छेडेदह र बूढीगङ्गा नगरपलिकाका स्थानीय रातभर जाग्राम बसेका हुन् ।
