अबिरल वर्षासँगै खसेको पहिराको कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पहिराको कारण कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।बुलिङटार गाउँपालिका–१ रातबीसेमा खसेको पहिराको कारण गए रातिदेखि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको हो । पानी परिरहेकाले तत्काल पहिरो पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिन रहेको उहाँको भनाइ छ ।कालीगण्डकी करिडोर पहिराको कारण अवरुद्ध भएसँगै यस खण्ड भएर चल्ने सवारीसाधन सञ्चालन हुनसकेका छनैन् । यस खण्ड हुँदै गैँडाकोटबाट नवलपुरको बुलिङटार, बौदीकाली, पाल्पाको रामपुर, तनहुँ, पोखरा, स्याङ्जालगायत स्थानका लागि सवारीसाधन सञ्चालन हुने गर्दछन् । निरन्तरको झरीले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडकमा समेत विभिन्न स्थानमा क्षति पुर्याएकाले सवारी आवागमन कठिन बनेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो

।पहिराले मालढुङ्गा–बेनी सडक अवरुद्धपर्वत : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । केही दिनदेखि निरन्तरको वर्षासँगै पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिराले सडक अवरुद्ध बनेको हो । पहिरो झर्ने क्रम रोकिएको छैन । वर्षा नरोकिएकाले पहिरो पन्छाउने कामसमेत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।यस क्षेत्रमा अहिले पनि ठूलो वर्षा भइरहेको छ । पहिरो खस्नसमेत रोकिएको छैन । वर्षा रोकिएलगत्तै सडक खुलाउनका लागि डोजर र सुरक्षाकर्मी परिचालन गरिने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीबाट छुटेका सवारीसाधन मिलनचोकमा थन्किएका छन् भने अन्यत्रबाट आएका सवारीसाधन लस्तीबजारमा रोकिएका छन् । केही साना सवारीसाधन भने बागलुङतर्फबाट वैकिल्पक मार्गको प्रयोग गरी गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ ।