दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।सङ्घका अध्यक्ष किशोर वगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गर्नुभयो । अहिले दूधको बजारीकरणमा समस्या देखिन थालेको जनाउँदै उहाँले सबैको भान्छामा नेपाली दुग्धजन्य उत्पादन प्रयोग भएमा अहिलेको समस्या समाधान हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “अहिले दूधको बजारीकरणमा समस्या देखिएको छ । यसलाई निराकरण गर्न आम नेपालीको भान्सामा नेपाली दुग्धजन्य उत्पादनको प्रयोग वढाउन जरुरी रहेको छ ।”जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने भए पनि जिल्ला बाहिर एक लाख ३५ हजार लिटर दूध मात्रै जाने गरेको छ । बाहिरी जिल्ला जाने दूधसमेत कम्पनीहरुले उठाउन कठिन मान्दा समस्या बढ्दै जान थालेको उहाँले जानकारी दिनुभयो ।

सङ्घका उपाध्यक्ष रामेश्वर गौलीलले जिल्लाबाट बाहिर जाने दूध कम्पनीले उठाउन गाह्रो मान्ने गरेको जनाउँदै विगत तीन किस्तादेखिको दूधको पैसासमेत पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “डिडिसीले गत साउनयता किसानलाई पैसा दिन सकेको छैन । अधिकांश किसानले कम्तीमा तीन किस्ताको रकम पाउन बाँकी छ ।”यही अवस्था रहेमा किसानले चाडपर्वको मुखमा आन्दोलन गर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ । सङ्घमा अहिले एक सय १५ सहकारी आबद्ध रहेको जानकारी दिँदै उहाँले यी सहकारीबाट कम्पनीले दूध उठाउन नसक्ने जानकारी दिन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले दूधको पैसा नपाउने र दूध बजारमा पनि नजाने हो भने यसले ठूलो समस्याको रुप लिन्छ । यसैले सबैले चार्डपवमा घरघरमा दुग्धजन्य उत्पादनको प्रयोग बढाएर सहयोग गर्नुपयो ।”सचिव कल्याण अधिकारीले सरकारले छिमेकी नाकाबाट आउने दूधको नियन्त्रणमा चासो नदिनुका कारण यहाँको दूधले बजार नपाएको गुनासो गर्नुभयो ।उहाँले भन्नुभयो, “राज्यका निकायले नेपाली दुग्धजन्य वस्तुको खपतमा ध्यान दिन जरुरी छ । अन्यथा किसान पलायन हुने अवस्था आउँछ ।” विद्यालयको दिवा खाजा, सुरक्षा निकायका कार्यालय अन्य सरकारी कार्यालयले दुग्धजन्य वस्तुको खपतमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
–––