निर्माणधीन अवस्थामा रहेको तनहुँ जलविद्युत आयोजनाको कारण मादी र सेती नदीका माछामा प्रत्यक्ष असर पुग्न थालेपछि संरक्षणको कार्यक्रम सुरु गरिएको छ । व्यास नगरपालिकाको संयोजत्वमा तनहँुको जलविद्युतको सहकार्यमा मादी नदीमा माछा संरक्षणको कार्यक्रम ल्याईएको हो । तनहँु जलविद्युत आयोजनाको निर्माण गदैगर्दा माछामा प्रत्यक्ष असर परे पछि मादी नदीमा माछा संरक्षण गर्न खोजिएको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । सोमबार नगरपालिकाको सभाहल्मा माछा संरक्षणको लागि मादी नदी संरक्षण सम्बन्धी परामर्श तथा छलफल कार्यक्रम समेत गरिएको छ । तनहुँ जलविद्युत आयोजनाको आयोजनामा मादी नदीका माछा संरक्षणको लागि प्रस्तावित क्षेत्रमा पर्ने चार वटा पालिकाहरुको सहभागितामा समन्वय समिती समेत गठन गरिएको छ ।
व्यास नगरपालिकाको नगरप्रमुख संयोजक रहने गरि समन्वय समिति गठन गरिएको हो । उक्त समितिको सदस्यहरुमा मध्यनेपाल नगरपालिकाका नगरप्रमुख,रुपा गाँउपालिकाको अध्यक्ष,मादी गाँउपालिकाको अध्यक्ष,बोटे तथा माझी समुदायका प्रतिनिधि, वातावरण तथा सामाजिक ईकाईको प्रतिनिधि र तनहँु जलविद्युत आयोजनाको प्रतिनिधि सचिव रहेका छन् । माछा संरक्षणको लागि मादी नदीको व्यास ५ स्थित रहेको मादी र सेतीको दोभान देखि कास्कीको मादी गाँउपालिका वडा नं ५ स्थित रहेको भैसे पुल सम्मको करिब ४५ कि.मी क्षेत्र तोकिएको माछा विज्ञ कृष्णहरि पनेरुले जानकारी दिए । उनले भने,“माछालाई एउटा निश्चित क्षेत्रमा तोकेर संरक्षण गर्नुपर्छ, मादी नदी सिधै हिमालको पानी बग्ने हुनाले माछा संरक्षण गर्न सहज हुन्छ । ”उनका अनुसार माछा संरक्षणको लागि मादी अफसेट कार्यक्रम निर्माण गरिएको छ । जसअन्गर्त तोकिएको क्षेत्रमा मुख्यतःअसला र सहर माछाका प्रजातीलाई संरक्षण गरिने भएको छ । मादी अफसेट कार्यक्रम अन्तर्गत तोकिएको क्षेत्रमा मात्र माछा मार्ने क्रियाकलाप गर्ने र माछा मार्न करेन्ट,बिषादी तथा विष्पोटक पर्दाथ प्रयोग गर्न रोक लगाउने माछा विज्ञ जयदेव विष्टले बताए । उनले भने,“माछा मार्ने समुदायलाई एउट निश्चित क्षेत्र दिईन्छ, असार देखि भदौ सम्म माछा मार्न पाईदैन । ”साथै उनका अनुसार तोकिएको क्षेत्र वरपरका शहर तथा बस्तीबाट निस्कने फोहोर मैलाको पनि उचित व्यवस्थापन गर्नु पर्ने बताए ।