वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालययले सबै तयारी पुरा गरेको छ । मतदान केन्द्रका लागि खटिएका कर्मचारीहरुले निर्वाचन सामग्री बुझेर सुरक्षाकर्मी कार्यस्थलमा पुगिसकेको र स्वएम् सेवकको नियुक्त भई तयारी पुरा भएको कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न गर्न खटिएका मतदान अधिकृतसहितको टोली मतदान केन्द्रमा पुगेका हुन् । दश वटा पालिकाका २९७ मतदान केन्द्रको लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी, सुरक्षाकर्मी खटाइएको छ । मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक ६१ प्रकारका सामग्री पनि बुझेर मतदान स्थलमा पुगेर तयारी पुरा गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तनहुँमा चार नगरपालिका, छ गाउँपालिकाका ८५ वटा वडाका ४४५ पदमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी १ हजार ६३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
जिल्लामा १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ महिला गरी २ लाख ४४ हजार ३४० जना मतदाता रहेको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार तनहुँमा गत स्थानीय तह निर्वाचनमा भन्दा यसपटक ४९ हजार आठ सय ६९ बढी मतदाता थपिएका छन् । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेका थिए ।
जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी २ हजार ३७६ जनशक्ति परिचालन गरिएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै कर्मचारीलाई नियुक्तिपत्र समेत वितरण गरिसकेको छ । केन्द्रमा पुगेका कर्मचारीले सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माण लगायतका कार्यहरु गरिरहेका छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृतले तीन जना स्थानीय स्वयम्सेवक भर्ना गरिसकेका छन् ।