गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको शालिग्राम करिडर लोकमार्ग सडक खण्डमा कालोपत्र कार्यका लागि ठेक्का सम्झौता गरिएको छ । उक्त सडक खण्डमा कालोपत्र गर्नका लागि तीनवटा ठेक्का सम्झौता गरी ठेकेदार कम्पनी निर्माण स्थलमा खटिसकेका पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।शालिग्राम कोरिडरअन्तर्गत कूल ८२ किलोमिटर दूरी सडक रहेको छ । उक्त दूरीमध्ये दासढुङ्गादेखि देउपुरसम्मको छ दशमलव दुई किलोमिटरमा यसअघि नै रू १३ करोडमा कालोपत्र सम्पन्न भइसकेको छ ।

देउपुरबाट भतेरीसम्मको करिब १७ किलोमिटर दूरीमा कालोपत्रका लागि चालु आवदेखि नयाँ ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढेको इन्जिनियर अमरेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डमा दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस सडक निर्माणका लागि रू आठ करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, घिरिङ्ग गाउँपालिकाको बैदीबाट पुटटारसम्मको ३२ किलोमिटर दूरीमा ग्राभेल सडक निर्माणका लागि दुईवटा ठेक्का सम्झौता भएको छ । घिरिङको करुवाटारसम्मको २१ दशमलव पाँच किलोमिटर दूरीसम्मका लागि रू चार करोडमा सम्झौता भएको छ ।

करुवाटारदेखि दश दशमलव चार किलोमिटर दूरीका लागि रू चार करोडमा दोस्रोत सम्झौता भएको इन्जिनियर यादवले बताउनुभयो । दुवै सम्झौताअनुरुप चालु आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । तीन ठेक्काको लागि कूल रू १६ करोड लागत रहेको छ ।शालिग्राम करिडर लोकमार्गअन्तर्गत देवघाटको दासढुङ्गा पुलबाट देउपुर, कोटा, रुपटार, मानपुर, डेढगाउँ, बैदी हुँदै पाल्पाको रामपुर र स्याङ्जा जोड्ने आयोजना रहेको कार्यालय प्रमुख दिनेशराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार स्याङ्जाबाट रुपटार, पुटटार मधुवनटारलगायतका छ बस्तीलाई उक्त सडकले जोड्ने छ ।

उक्त क्षेत्रमा कृषिदेखि औद्योगिकग्राम स्थापनाको प्रचुर सम्भावना रहेकाले त्यस क्षेत्रका बस्तीलाई सडकसँग जोड्दै आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । सुरुमा पाल्पा र स्याङ्जालाई तनहुँसँग जोडेपछि कालीगण्डकी करिडोर हुँदै धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ मन्दिरसम्म जोड्ने प्रदेश सरकारको दीर्घकालीन योजना रहेको छ ।