तनहुँ २१ चैत्र
तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक,सामाजिक विकासको पूर्वाधार भन्ने मुल नाराका साथ आयोजित आठौं तनहुँ महोत्सव सोमबार सम्पन्न भएको छ ।
तनहुँ उद्योग वाणिज्य संघ,दमौली बजार इकाई समितिको संयुक्त आयोजनामा आयोजित उक्त महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले समापन गर्नुभएको हो ।
चैत्र १० गते देखि चैत्र २१ गतेसम्म आयोजित महोत्सवमा रु.पाँच करोड बराबरको आर्थिक कारोबार भएको आयोजक समितिले जनाएको छ ।
महोत्सव अवधिभर करिब तीन लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता इमकुमार मल्लले जानकारी दिनुभयो ।
महोत्सवको पहिलो दिन हावाहुरी र पानी परेका कारण दर्शक र व्यापारको चहलपहल हुन नसकेपनि अन्य दिनमा दर्शकहरुको बाक्लो भीड लागेको उहाँले बताउनुभयो ।
चैत्र २० गते महोत्सव समापन गर्ने आयोजक समितिले जनाएपनि महोत्सवका व्यवसायीहरुको बिशेष आग्रहलाई मध्यनजर राख्दै एक दिन थप गरिएको हो ।
महोत्सवमा ख्याति प्राप्त कलाकारहरु सहभागि गराइएका कारण दर्शकहरुको उल्लेखनीय मात्रामा सहभागिता र मनोरञ्जन लिन पाएको राष्ट्रिय कलाकार समन्वय समितिका संयोजक कुमार मल्लले जानकारी दिनुभयो ।
महोत्सव अवधिमा प्रकाश सपूत,ज्योति मगर,सबिन राई,शान्तिश्री परियार,अस्मीता अधिकारी,बसन्त बिश्वकर्मा,छेबाङ लामा लगायतका चर्चित कलाकारहरुको प्रस्तुतिले दर्शकहरुको मनलाई आर्कषण गरेको थियो ।
जिल्ला भित्र रहेका धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मुल समारोह समितिका संयोजक एवं तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग पुराउने व्यक्ति तथा संघसंस्थालाई महोत्सव आयोजक समितिले धन्यबाद समेत प्रकट गरेको छ ।
महोत्सवको अवधिभर मादीसेतीमा संञ्चालन गरिएको मोटर बोट दर्शकहरुको आर्कषण बनेको थियो । रु.एक सय ५० शुल्कमा मोटरबोटमा चढेर सरर…. आनन्द लिन पाएपछि दर्शकहरु मख्ख थिए । त्यसैगरी घोडा चढेर रमाउनेहरुको पनि भीडमा कमि थिएन् । महोत्सवमा राखिएको रमाइलो मेला तथा टिकटक पार्कमा सेल्फी,टिकटक र फोटो खिचाउने युवायुवतीहरुको घुइँचो पनि उत्तिकै रहेको थियो ।