तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गरेको हो ।

केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा श्रेष्ठले जानकारी दिनुभयो । 

जिल्लामा कूल नौ ठाउँमा कृत्रिम गर्भाधान केन्द्र रहेका छन् । विगत वर्षभन्दा आव २०७९÷८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा श्रेष्ठको भनाइ छ । 

सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताउनुभयो ।

कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नुपर्दैैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । 

कार्यालयले सोही अवधिमा विभिन्न रोगबाट प्रभावित ११ हजार दुई सय ६० पशुलाई खोप लगाएको छ । डा श्रेष्ठका अनुसार १० हजार पाँच सय पशुलाई ‘लम्पी स्किन’विरुद्ध र सात सय ६० कुकुरलाई रेविजविरुद्धको खोप लगाइएको छ । 

जिल्लामा पछिल्लो समय पशुपालनतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्किएका युवा पशुपालनमा जोडिएका छन् । विदेशमा गर्ने दुःख स्वदेशमा गर्दा यहीँ मनग्य आम्दानी हुने कृषकको भनाइ छ । 

भेटेरीनरी अस्पताल तथा जिल्लाका स्थानीय तहले अनुदानका कार्यलाई प्राथमिकता दिएपछि कृषक यसतर्फ आकर्षित छन् । सोह्र वर्ष वैदेशिक रोजगारीमा रहनुभएका म्याग्दे गाउँपालिका–४ सिस्नेरी निवासी बमबहादुर थापाले स्वदेश फर्किएर बङ्गुरपालन गरिरहनुभएको छ । कुवेत छँदा आम्दानीको स्रोत राम्रै रहे पनि नेपालमै गएर केही गर्ने हुटहुटी बोकेर थापा बङ्गुरपालनमा लाग्नुभएको हो ।