कञ्चनपुरमा साहित्यकारको समूहले संस्कृति पुस्तान्तरणका लागि घरदैलो अभियान चलाएका छन् । प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतबन्धुले संस्कृति पुस्तान्तरण र सर्जकको श्रीवृद्धिका लागि घरदैलोमा साहित्यिक–सांस्कृतिक बिमर्श अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
हरेक दिन सर्जकको घरमा पुगेर साहित्यिक–सांस्कृतिक बिमर्श हुने गरेको उहाँले बताउनुभयो । “यसले संस्कृति पुस्तान्तरण त हुन्छ नै सँगसँगै सर्जकमा पनि निखार आउछ ।” उहाँले भन्नुभयो,“यसले पछिल्लो पुस्तालाई हाम्रो संस्कृतिबारे जानकार गराउन सहयोग पुग्छ ।”
यहाँको सामाजिक, सांस्कृतिक तथा साहित्यिक उन्नयनका लागि सहकार्य, सामाजिक सद्भावका लागि पनि कार्यक्रम महत्वपूर्ण भएको उहाँको भनाइ छ । गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाले घरदैलो अभियानले सामाजिक सद्भाव कायम हुनुका साथै परम्परा र पद्दति स्थापित हुने बताउनुभयो ।
“यो कार्यक्रमले सर्जकलाई सक्रिय, सकारात्मक, सिर्जनशील बनाउने मात्रै होइन समस्याको रूपमा देखापरेको पुस्तान्तरणमा पनि सहजीकरण गर्ने हो ।” ओझाले भन्नुभयो,“कार्यक्रममा श्रष्टाका रचना वाचन प्रस्तुत हुन्छन् ।” साउन एक गतेदेखि सुरु भएको अभियान निरन्तर रुपमा सञ्चालन हुनेछ ।
साहित्यकार कविराज भट्टले यस्ता साहित्यिक विमर्श कार्यक्रमले सर्जकको सिर्जनामा निखार आउनुका साथै थप सिर्जनशील हुन सहयोग पुग्ने बताउनुभयो । “यसले सर्जकलाई निरन्तर रुपमा सिर्जना गर्नको लागि प्रेरित गर्दछ ।” उहाँले भन्नुभयो–“यस्ता कार्यक्रमले नयाँ पुस्तासमेत संस्कृतिबारे जानकार हुन पाउँछन ।”
–––