प्रेस काउन्सिल नेपालले धनकुटाका एक पत्रकारको उपचारका लागि आर्थिक सहयोग गरेको छ । सँगालो खबर अनलाइनमा कार्यरत सन्तोष सुवेदीलाई काउन्सिलले रु १५ हजार सहयोग गरेको हो । सुवेदीले लामो समयदेखि टाउकोसम्बन्धी समस्याको उपचार गराइरहनुभएको छ । गृह जिल्ला आउनुभएका राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले काउन्सिलका तर्फबाट उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासङ्घ धनकुटा शाखामार्फत सुवेदीलाई हस्तान्तरण गर्नुभएको छ । महासङ्घका अध्यक्ष नगेन्द्र राई तथा केन्द्रीय सदस्य सरिता बराइलीको उपस्थितिमा चेक हस्तान्तरण गर्दै प्रबन्धक राईले पत्रकार सुवेदीलाई काउन्सिलको तर्फबाट सु–स्वास्थ्यको शुभकामना सन्देश सुनाउनुभएको थियो । सो अवसरमा महाप्रबन्धक राईले पत्रकार महासङ्घले स्थापना गरिरहेको पुस्तकालयका लागि दुई दर्जनभन्दा बढी पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।