तनहुँ जिल्लालाई पूर्ण खोप घोषणा गरेको छ । बुधबार दमौलीमा एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथि प्राकृतिक स्रोत तथा बित्त आयोग नेपालका सदस्य जुद्ध बहादुर गुरुङ्गले उदघाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै गुरुङ्गले पूर्ण खोप जिल्ला घोषणा कार्यका लागि स्थानीय तह,स्वास्थ्य कर्मचारी,महिला स्वास्थ्य स्वयसेविकाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय महाशाखाका प्रमुख डा रमेश केसीले बिश्वभरी २० लाख बालबालिका खोप नपाएका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरिएकाले खोपका माध्यमबाट शिशुको मृत्युदर न्यूनिकरण गर्न सकिएको बताउनुभयो । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले तनहुँका १० वटै स्थानीय तहहरुबाट घरधुरी सर्भेक्षण गरी नियमित खोप लगाउन छुटका बालबालिकाहरुलाई पुर्ण खोप लगाएर नियमित रुपमा पाउनुपर्ने सबै खोप पाइसकेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भानु नगरपालिकाका प्रमुख अन्दाराज त्रिपाठी ,ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाँउपालिका प्रमुख श्री प्रसाद श्रेष्ठले लगायतका वक्ताहरुले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य कर्मचारी र महिला स्वास्थ्य स्वयसेविकाको महत्वपूर्ण भूमिका रहेको जोड दिएका थिए ।