तनहुँकाे शुक्लागण्डकी नगरपालिका–७ निवासी ३८ बर्षीय सुरेन्द्र बिकको हत्या गर्ने देबबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा जिल्ला हरिनास गाउँपालिका–४ गृह्रकोट स्थायी घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–७ स्याउली बजारमा डेरा गरी बस्ने ५७ बर्षीय देव चन्दलाई पक्राउ गरेको हो ।
खैरेनीटार भिमाद सडकको नालीमा बि.क.को मृत लाश फेला परेको घटनाको सुचना इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट जानकारी हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृत समेतको अनुसन्धान टोली घटनास्थलमा गई अनुसन्धान थालेको थियो । बिकको टाउकोमा कडा वस्तुले प्रहार गरेर हत्या गरी उक्त नालीमा फालेको खुल्न आएकोले उक्त घटनामा संकित चन्दलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।