दुलेगौँडा । ग्रामिण बस्तीमा रहेका नागरिकहरुलाई गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरेर तनहुँ सेवा हस्पिटलले सेवा प्रदान गरेको छ । शुक्लागण्डकी नगरपालिका ४ दुलेगौँडामा रहेको यस हस्पिटलले बुधबार हरिनास गाँउपालिका १ सालडाँडामा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविर मार्फत ४ सय ३९ जना नागरिकले लाभ लिएका छन् । साथै शिविरमा नै थप २ सय ४ जनाको आखा परिक्षण गरेको हस्पिटलका ब्यवस्थापक विष्णु अर्यालले जानकारी दिनुभयो । अर्यालले शिविरमा छाती रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मेघराज लामिछाने, फिजीसीयन डा. तारा पौडेल, छाला रोग विशेषज्ञ डा. रमेश शर्मा, बालरोग विशेषज्ञ डा. किरण शर्मा, स्त्रीरोग विशेषज्ञ डा. अस्मिता पाठक लगायतले स्वास्थ्य परिक्षण गरेको बताउनुभयो । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको शिविरमा सुगर र उच्च रक्तचापका विरामी, महिलामा शल्यक्रिया गर्नुपर्ने विरामी समेत पहिचान गरेर उपचारका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । दुलेगौाडामा रहेको यस हस्पिटल तनहुँसँगै कास्की, स्याङ्जा र नवलपरासीका नागरिकहरु उपचारका लागि आउने गरेका छन् ।