पर्यटकीय नगरी पोखरामा कुनै बेला देश विदेशबाट आउने खर्चालु पर्यटक बस्ने ठाउँका रुपमा चासो र चर्चा कमाएको थियो फूलबारी होटेलले । पाँचतारे प्लस डिलक्ससमेत रहेको यो होटेललाई नेपालमा मात्र नभइ दक्षिण एशियाकै नमूना मानिन्थ्यो । मजदूर आन्दोलन लगायतका कारणबाट पाँच वर्षयता बन्द यो होटेल अहिले भने सुनसान छ । तत्कालीन समयमा झण्डै ४५० जनालाई रोजगारी दिएको यस होटेलमा भएको संरचना जोगाउन र कुर्नका लागि हाल सुरक्षाकर्मीसहित १६ जना कर्मचारी छन् । होटेल तथा परिसरको सरसरफाइ कार्यलाई निरन्तरता दिइएको होटेलका इञ्जिनीयरिङ विभाग प्रमुख धनराज पुरीले जानकारी दिनुभयो ।
सन् २०१७ फेब्रुअरी २८ बाट मजदूर आन्दोलनका कारण बन्द भएको होटेल पुनः सञ्चालनका लागि व्यवस्थापनले पहल गरिरहे पनि कोरोना महामारीका कारण कहिलेबाट पुनःसञ्चालनमा आउँछ भन्ने यकिने हुनसकेको छैन । पुरीका अनुसार पुनः सञ्चालनका लागि न्यूनतम नौ महिनादेखि एक वर्षसम्म ममर्त तथा पुनःनिर्माणका काम लाग्ने अनुमान गरिएको छ । सन् १९९८ देखि सञ्चालनमा आएको यस होटेल २०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त क्षेत्रफलमध्ये फूलबारी होटेलकै नाममा पूर्जा रहेको ६८ रोपनी जग्गाबिना जानकारी प्रहरीको नाममा दिइएकोमा त्यो अदालतमा विचाराधीन अवस्थामा रहेको व्यवस्थापनले जनाएको छ । होटेलमा सुविधा सम्पन्न १६५ कोठा रहेका छन् । होटल सञ्चालनको सुरुमा थाइल्यान्डको दुषित्थानी नामक समूहले यसको व्यवस्थापनको जिम्मा लिएको थियो । सुरुमा लगभग पाँच वर्ष होटेल राम्रैसँग चले पनि सन् २००४ पछिका वर्ष भने सन्तोषजनक हुनसकेन ।
त्यसयता समय समयमा भएका जहाज अपहरण, ऋतिक रोशन काण्ड, माओवादी सशस्त्र द्वन्द्वको सुरुवात र चरमोत्कर्ष, दरबार हत्याकाण्डलगायतका घटना क्रमको असर होटेलमा पनि प्रत्यक्ष परेको थियो । यी विभिन्न समस्यासँगै खर्चालु पर्यटकको आगमन घट्दै गएसँगै प्रभावित बनिरहेको होटेलमा थपिएको मजदूर समस्याले होटेल अन्ततः बन्द हुनपुगेको हो । यसबीचमा होटेलका सञ्चालकदेखि विभिन्न समूहले व्यवस्थापनको जिम्मा लिए पनि होटेलले गति लिन सकेको थिएन । झण्डै चार अर्ब लगानी भएको यस होटेलका सञ्चालक पियुषबहादुर अमात्य हुनुहुन्छ ।
उहाँ तत्कालीन राजा वीरेन्द्रसँग निकट हुनुहुन्थ्यो । दरबार हत्याकाण्ड, देशमा द्वन्द्वको अवस्था आदिले सबै क्षेत्र प्रभावित भएसँगै होटेलको अवस्था पनि त्यही रुपमा प्रभावित भएको अनुमान गरिन्छ । पर्यटकको आगमन घट्नु, ऋण बढ्दै जानुलगायतका कारणसँगै व्यवस्थापन र मजदूरबीचको द्वन्द्वले पनि होटेल बन्द हुन पुगेको जानकार बताउछन् । पर्यटनमन्त्री कँडेलद्वारा स्थलगत अवलोकन गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले बन्द अवस्थामा रहेको फूलबारी होटेलको स्थलगत अवलोकन गर्नुभएको छ ।