तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार भएको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरमा रहेको ढोरफूलबारी सहिद अस्पतालमा भिडियो एक्सरे सेवा विस्तार गरिएको हो ।विगतमा गर्भवतीलाई मात्रै भिडियो एक्सरे सेवा दिने गरिएकामा अब सबैका लागि खुला गरिएको अस्पतालका मेडिकल अधिकृत डा विज्ञान क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब यो सेवा बिदाका दिनबाहेक अन्य दिनमा पनि आवश्यकताअनुसार सबै सेवाग्राहीलाई प्रदान गरिनेछ ।”राइपुरमै भिडियो एक्सरे सेवा विस्तार भएपछि सर्वसाधारणलाई सहज हुने भएको छ । भिडियो एक्सरे सेवाका लागि नगरपालिकाको केन्द्र दुलेगौँडा बजारसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताउनुभयो । अस्पतालले गर्भवती सेवा, खोप सेवा, गर्भपतन सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा प्रदान गर्दै आइरहेको छ ।
गत फागुनदेखि अस्पतालले इसिजी सेवा सुरु गरेको छ । मेडिकल अधिकृत डा क्षेत्रीका अनुसार अस्पतालमा सेवा थप गर्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “नगरस्तरीय अस्पतालबाट सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न लागि परेका छौँ ।”समुदायस्तरबाट सञ्चालित उक्त अस्पताल विसं २०७५ भदौमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसयता नगरपालिकाको स्वामित्वमा अस्पताल सञ्चालनमा छ । विसं २०७४ साल असोज २७ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त अस्पताललाई सरकार मातहतमा ल्याउने निर्णय गरेको थियो । अस्पतालको स्वामित्वमा आठ रोपनी १२ आना जग्गा, दुई वटा भवन छ । उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा विरुवा गाउँपालिकाका सर्वसाधारणलाई सेवा दिँदै आएको छ ।