डेंगु संक्रमणको जोखिम बढेपछि तनहुँका स्थानीय तहले डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित आँबुखैरेनी गाउँपालिकाले ‘खोज र नष्ट गर’अभियान सुरु गरेको छ। नेपालका विभिन्न ठाउँमा डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । डेंगुको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै गाउँपालिकाले प्रदेश र जिल्लासँगको समन्वयमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
डेंगुका बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको र विभिन्नस्तरमा डेंगु नियन्त्रणका उपायका बारेमा विशेषज्ञसँग नियमित बैठक गरिएको उपाध्यायले बताए । ‘डेंगु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, प्राय: दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यसबाट जोगिनका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य गरिएको छ,’ उपाध्यायले भने ।
यस्तै प्रत्येक शनिबार बिहान १० बजे १० मिनेट घरभित्र र बाहिर लामखुट्टेले फूल पार्ने ठाउँ खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिइ । यस अभियान कार्यान्वयका लागि स्थानीय जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक, पत्रकार, सङ्घसंस्था, टोलविकास समितिलाई परिचालन गरिनेछ ।
तनहुँमा ७८ जनामा डेंगु संक्रमणण
देशभर फैलिरहेको डेंगुको प्रकोप तनहुँमा पनि बढेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको जोखिम यहाँ पनि पनि बढेको हो । डेंगुको संक्रमणणपछि जिल्लास्थित अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढ्दो छ ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गरिएकामध्ये ७८ जनामा डेंगु पुष्टि भएको छ । भदौमा दुई सय १८ जनाको डेंगु परीक्षण गरिएकामा एक सय ४० जनामा भने संक्रमणण पुष्टि भएन । डेंगु पुष्टि भएकामध्ये २७ बिरामी अस्पतालमा भर्ना भएर उपचार गराएको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबै बिरामी उपचारपश्चात् घर फर्किएका छन् ।
‘डेंगुसँग संक्रमणण मिल्दोजुल्दो बिरामी दैनिकरुपमा आउने गरेका छन् । परीक्षण गर्दा पुष्टि भएका र जोखिम भएकालाई भर्ना गरेर उपचार गर्छौ,’ श्रेष्ठले भने । उनका अनुसार हाल अस्पतालमा डेंगुका बिरामी भर्ना भएर उपचाररत छैनन् । अस्पतालले किटमार्फत डेंगुको परीक्षण गरेको र किट पर्याप्त मात्रामा रहेको डा श्रेष्ठले बताए । डा श्रेष्ठका अनुसार डेंगुको परीक्षण गर्दा बीमा गरेकाको हकमा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ ।
सदरमुकामस्थित दमौली अस्पतालमा भने डेंगुका बिरामी नभेटिएको बताइएको छ । अस्पतालका डा राजु रानाले डेंगु पुष्टि भएर अस्पतालमै भर्ना गरेर बसेका बिरामी नरहेको बताए । ‘डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी दैनिक रुपमा आउने गरे पनि डेंगु नै पुष्टि भएको छैन,’ उनले भने । लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले त्यसबाट जोगिन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । डेंगुको भाइरसबाट संक्रमणित लामखुट्टेको टोकाइले यो रोग एक जनाबाट अर्कोमा सर्छ । पछिल्लो समय विभिन्न जिल्लाका प्रमुख सहरमा डेंगुका बिरामी बढ्दो क्रममा छ ।
एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् ।