खाँदबारी, १४ साउन (रासस)— जिल्ला अस्पताल संखुवासभा बार्षिक करिव ७० हजार विरामी उपचार गर्ने थलो हो । अस्पतालमा बिशेषज्ञ सेवा पनि भएकाले भोजपुर र संखुवासभाका बिरामीको उपचारका लागि भीड लाग्छ । तर अस्पतालको सेवा ४ दशक अघि बनेको पुरानै भवनबाट सञ्चालन हुँदा बिरामीले सास्ती खेप्न परिरहेको छ । जिल्ला अस्पताल संखुवासभा ५० बेड क्षमताको अस्पताल हो । ५० बेडको स्वीकृती पाएको अस्पतालमा उपचार गर्ने बेड १५ वटा मात्रै छ । स्तरन्नोती संगै नयाँ भवन निर्माण हुन थालेको पनि ५ बर्ष बित्यो । तर अहिलेसम्म भवन निर्माणले पूर्णता नपाउदा भनेजस्तो बिशेषज्ञ सेवा दिन सकिरहेको छैन ।
तोकिएको समयमा अस्पताल भवन निर्माण नहुँदा जिल्ला अस्पताल संखुवासभामा सेवाग्राहीले कष्टका बीच उपचार सेवा लिइरहेका छन् । जिल्ला अस्पताल संखुवासभा ७ बर्षअघि ५० बेडमा स्तरउन्नती भएलगत्तै सुबिधा सम्पन्न भवन निर्माण सुरु गरिएको थियो । २०७९ को असार मसान्तमा निर्माण पूरा भइसक्नु पर्ने अस्पतालको भवन अझै अधुरै छ । २८ करोड रुपैयाँ लागतमा निर्माण हुँदै गरेको भवनको म्याद ठेकेदार कम्पनी स्वामीनारायण जेभीले पटक–पटक सम्झौता अवधि थप गरिरहेको छ । पूरानो र सानो भवनमा अस्पतालले भेन्टिलेटर, आईसियु लगायत डिजिटल प्रविधिको एक्स–रे सेवा, ईको सहितको भिडियो एक्स–रे, कल्चर सहितको अत्याधुनिक प्रयोगशाला सेवा दिँदै आएको छ ।
अस्पतालमा अहिले २ जना बिशेषज्ञ चिकित्सक सहित ७ जना चिकित्सक कार्यरत छन् । सानो भवनमा कोचाचोच गरेर सेवा दिएको अस्पतालमा उपचार गर्न टाढाका जान आर्थिक अभावले नसक्नेहरुलाई जिल्ला अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन भएपछि फाइदा पुगेको छ । अस्पतालमा दैनिक ३ सय बढी सेवाग्राही उपचारका लागि आउँछन् । भवन अभावमा बिरामीलाई सहज सेवा दिन नसकेको अस्पताल प्रशासनले स्वीकारेको छ ।