जिल्लाको व्यास नगरपालिका कार्यालयले मिर्गौला र क्यान्सरका गरी एक सय पाँच जना बिरामीलाई औषधी उपचारमा आर्थिक सहयोग गरेको छ ।
‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत मिर्गौला र क्यान्सरका औषधि खर्चबापत रु.चालिस लाख दश हजार रकम प्रदान गरेको हो । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिना देखि औषधी खर्चबापत मासिक रु.पाँच हजार प्रदान गरिदै आएको नगरपालिकाले जनाएको छ ।
चिकित्सकको सिफारिसमा वडा कार्यालय मार्फत चालु वर्षमा उक्त परिमाणका बिरामीले औषधी खर्च बापत रकम पाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । क्यान्सरका बिरामी चौसठ्ठी,डायलाइसिस गरेका बिरामी चौतिस जना, मृगौरा प्रत्यारोपण गराएका छ जनाले औषधी खर्च बापत रकम लिएको उनले बताए ।त्यस्तै मेरुदण्डको पक्षघातको एक जना बिरामीले औषधी खर्चवापत ९ महिनाको रु.पैतालिस हजार प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले जानकारी दिइन् । चिकित्सकले व्यक्तिले उपचार गराइरहेको सिफारिस गरिदिएपछि बिरामीले व्यास नगरपालिकामा उपचार खर्च माग गरी भुक्तानी लिने प्रावधान रहेको छ । मेरुदण्ड पक्षघात भएका बिरामीको हकमा भने अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित पेश गरेको हुनुपर्ने व्यवस्था रहेको उनले बताइन्।
