तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाका अभियुक्तलाई १८ वर्ष छ महिना कैद फैसला सुनाएको छ । आइतबार न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियुक्त व्यास नगरपालिका–१० निवासी यमबहादुर बिकविरुद्ध साे फैसला सुनाएको हो । आइतबार यही असार १३ गते मुद्दा फैसला भएकोमा सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयाे । अदालतले बिकलाई छ लाख जरिवाना र १५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बुझाउनुपर्ने फैसला गरेको छ ।

तनहुँ जिल्ला अदालतमा अभियुक्त बिक विरुद्ध ८ असार २०७८ मा जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । विसं २०७७ मङ्सिर १५ गते १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी र विसं २०७८ जेठ १३ गते गर्भपतन गराएको अभियोगमा प्रहरीले बिकलाई पक्राउ गरेको थियो । विसं २०७७ मङ्सिर १५ अभियुक्तले बालिकालाई पटक–पटक बलात्कार गरेको उजुरी परेको थियो ।