तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधनपछि नगरपालिकाले शोक बिदा दिएको छ । नगरपालिकाले आज दिउँसो १ बजेदेखि शोक बिदा गर्ने निर्णय गरेको हो । व्यास नगरपालिका–१० निवासी शर्माको शनिबार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । केही दिनदेखि डेङ्गु सङ्क्रमण भएपछि दमौलीमा उपचाररत ३५ वर्षीया शर्मालाई थप उपचारका लागि पोखरा लगिएको थियो । नगरपालिकाले आज दिउँसो सभाहलमा शोक कार्यक्रम समेत आयोजना गरि चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । कलिलो उमेरमा नै असामयिक निधन भई कार्यालयलाई अपुरणीय क्षत्रि भएको दुःखद घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी नगरपालिका, वडा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरु (अत्यावश्यक बाहेक) आधा दिन शोक बिदा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।