तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नं १ झापुटारमा निर्माणधिन १४० मेगावाट तनहुँ जलविद्युत आयोजनाको प्रवेश सुरुङ छेड्ने कार्य सम्पन्न भएको छ ।सेती नदीको बायाँ किनारतर्फबाट बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई भएको प्रवेश सुरुङ छेडिएको हो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थायी रुपमा प्रयोगमा ल्याउन सकिने भएको छ । आयोजनाको प्रवेश सुरुङ छेड्ने कार्य सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सहज हुने तनहुँ जलविद्युत आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो। प्रवेश सुरुङ सम्पन्न भएपछि अब सेती नदीको बायाँतर्फबाट हुने निर्माण कार्यका लागि निर्माण सामग्री तथा उपकरणहरु लैजान र आवतजावतका लागि सहज भएको छ ।
आयोजनाको पहिलो प्याकेज अन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न ०७८ फागुन २८ मा पहिलो बिस्फोट गराइएको र १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा. लि. नेपाल जे. भी.ले निर्माण गरिरहेको छ । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिन पुगेको छ ।
५३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ भने मुख्य बाँध निर्माण गर्नका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।
दोस्रो प्याकेज अन्तर्गत आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका निर्माण कार्य सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत केइसी भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य , गरिरहेको छ ।
तनहुँ जलविधुत आयोजना निर्माण कार्य समग्र २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत रु.५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले रु.१५ करोड रहेको छ ।त्यस्तै जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले रु.१८ करोड रु.४० लाख, युरोपियन लगानी बैंकले रु.८ करोड ५० लाख र नेपाल सरकार– विद्युत प्राधिकरणले रु.८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।