गण्डकी प्रदेशमा असार १५ सम्म २८.२० प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म २६,५६२ हेक्टर क्षेत्रमा धान रोपिएको छ। जिल्लागत रूपमा हेर्दा सबैभन्दा बढी बागलुङमा ४५ प्रतिशत, कास्कीमा ४३ प्रतिशत, म्याग्दी र लमजुङमा ३४–३४ प्रतिशत, नवलपुरमा २९ प्रतिशत, पर्वतमा २५ प्रतिशत, तनहुँ र स्याङ्जामा १८–१८ प्रतिशत, र गोरखामा १० प्रतिशत रोपाइँ भएको छ।

कृषि अर्थ विज्ञ मनोज पौडेलका अनुसार पर्याप्त वर्षा नभएकाले रोपाइँको गति ढिलो भएको हो। सिँचाइ सुविधा पुगेका ठाउँमा रोपाइँ प्रायः सम्पन्न भए पनि वर्षामा भर पर्ने क्षेत्रहरूमा काम सुस्त भएको बताए। असारको अन्त्यसम्ममा वर्षा भए बाँकी खेतमा पनि रोपाइँ सकिने अपेक्षा गरिएको छ।

गण्डकी प्रदेशका नौ जिल्लामा धानखेती हुने गरेको छ (मुस्ताङ र मनाङ बाहेक)। यस वर्ष ९४,१८२ हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ, जुन अघिल्ला वर्षको तुलनामा केही कम हो। खेत घट्नुमा घरघडेरीकरण, सहरी विस्तार र कृषि जमिनको रूपान्तरण मुख्य कारण भएको विज्ञहरूले बताएका छन्।

तर, सिँचाइ, रोग नियन्त्रण, उन्नत बीउ र मल व्यवस्थापन तथा प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन सकिने उनीहरूको सुझाव छ। यहाँ रामधान, सुक्खा, जेठोबुढो, सुनौलो सुगन्ध र खुमलजस्ता धानका प्रजाति लगाइन्छ। चुँदीफाँट, मकैखोला, लेखनाथ, कावासोती, आरुघाट, जलजला र गलकोटलाई धान उत्पादनका पकेट क्षेत्र मानिएको छ।