काठमाडौँ, असार ९ गते । नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो

डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन् ।

उहाँ भन्नुहुन्छ, “नेपालमा पुष्टि भएको ओमिक्रोनको नयाँ पुस्ता हो । पुष्टि हुनेमा सात वटा लिनेज एक्सएफजी, तीन वटामा एक्सएफजी, एउटामा एक्सएफजी ३.१ र दुई वटामा जेएन १ रहेको छ ।”

ओमिक्रोनको सब भेरिएन्ट कोभिड १९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हुुन् । भाइरस लगातार अनुवंशिक रुपमा परिवर्तन –म्युटेट)भइरहन्छ । यस्ता भेरिएन्टले छुट्टै विशेषता देखाउने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका सबभेरिएन्ट सङ्क्रामक भए पनि घातक नभएको उल्लेख गरेको छ ।

नेपालमा पछिल्लो समय पुनः कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने क्रम बढ्दो छ । विशेषगरी भारतबाट फर्किनेमा कोरोना पुष्टि हुने गरेको छ । डा.बुढाथोकीका अनुसार सिमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा भारतबाट फर्किनेमा कोरोना पुष्टि हुने क्रममा बढ्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा पुस यता २५ जिल्लाबाट १६७ कोरोना भाइरसका केस पुष्टि भएका छन् । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमतीमा १३१, कोशीमा चार, मधेशमा पाँच, गण्डकीमा तीन र सुदूरपश्चिम प्रदेशमा २१ जना छन् ।

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार रुघा/खोकी लाग्ने, आलश्य हुने, घाँटी, मांशपेशी, जिउ दुख्ने, नाक बन्द हुने, डाइरिया हुने ज्वरो आउने यो भाइरसका प्रमुख लक्षण हुन् । हाछ्यु गर्दा, सिगाँन, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ ।

ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबलिका, गर्भवती, रोग प्रतिरोधात्मक क्षमता भएका मानिस कोरोनाको जोखिममा हुने हुँदा सचेत रहन चिकित्कको सुझाव छ ।

माक्सको प्रयोग गर्ने, हातधुने, खोप लगाउने लक्षण देखिएमा आइसोलेसनमा बस्दा रोग फैलनबाट बच्न सकिने डा.पुन बताउनुहुन्छ ।

नेपालमा कोभिड १९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले तीन वटा हवाई र १७ वटा स्थलगत सिमा नाकामा रहेका डेक्स निगरानीलाई प्रभावकारी बनाएको डा.बुढाथोकीको भनाइ छ ।