लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् । त्यस अवसरमा व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै अन्य विकल्पको खोजी हुन नहुने बताए ।

लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएकाले यसको सुदृढीकरण अपरिहार्य भएको विचार व्यक्त गरे । शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

बालअधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम गर्न आवश्यक रहेको बताए ।तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरेको २०६३ वैशाख ११ गतेको स्मरणमा २०६४ सालदेखि हरेक वर्ष लोकतन्त्र दिवस मनाउन प्रारम्भ भएको हो ।