राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने । सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ । शर्माले भन्नुभयो शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं । जानुहुन्छ होला । जानु भएन भने त्यसको विकल्प पनि सोचेका छौं,’ शर्माले भने, ‘पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षक पनि हुनुहुन्छ ।

जिल्लामा आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले सहज हुनेगरी संयन्त्र प्रयोग गर्न सक्नु हुन्छ ।’ बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ । ‘शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको थियो,’ उनले भने । यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ । यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन । शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । यस्तो समयमा बोर्डले परीक्षा गर्ने निर्णय ग¥यो । हामी असहयोग गर्छौं । शैक्षिक हड्ताल कायमै छ,’ शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।