बाल्यकालमा आदिकवि भानुभक्त आचार्य भोर्लेटारस्थित मामाको घर जाँदा व्यास ७ सत्रसयमा पर्ने घाँसीकुवा संरक्षणको लागि स्थानीयको अग्रसरतामा शनिबार ‘भानु–घाँसीकुवा क्षेत्र विकास प्रतिष्ठान’ गठन गरिएको छ ।
व्यास नगरपालिका ७ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा गठित समितिको अध्यक्षमा रत्नमाया थापामगर रहेकी छन् । प्रतिष्ठानको उपाध्यक्षमा टिकाराम श्रेष्ठ, सचिवमा टेकबहादुर सुनार, सहसचिवमा पूर्ण विके, सदस्यहरुमा सन्तबहादुर रानामगर, धनमाया श्रेष्ठ, कोपिला थापा र मिना परियार रहेका छन् । आफूहरुले ओझेलमा परेको घाँसीकुवाको संरक्षणको लागि विभिन्न निकायसँग हातेमालो गर्दै अघि बढ्ने अध्यक्ष थापामगरले बताईन् ।
भानुभक्त र घाँसीकुवाको कथालाई प्रेरणाको रुपमा सवैतिर लिने चलन भएपनि नजिकको तिर्थ हेला जस्तै भएकोले घाँसीकुवाको महत्वलाई उजागर गर्न नसकेको व्यास ७ का वडा अध्यक्ष न्यौपानेले बताए । भानुभक्त मामाघरमा जाँदा व्यास ७ साँखुलीका खड्गबहादुर मगरले सत्रसयमा खनेको उक्त घाँसीकुवाको प्रचारप्रसारको लागि साहित्यकार देव बस्न्यात लगायतबाट समेत आफूहरुले पटक पटक हौसला पाएको अध्यक्ष न्यौपानेले बताए ।
मध्यनेपाल नगरपालिकाले भानुभक्त सम्बाद चौतारी भनेर व्यापक प्रचारप्रसार गरेपनि संस्था नहुँदा उक्त घाँसीकुवाको विकासमा आफूहरुले केही गर्न नसकेको वडा अध्यक्ष न्यौपानेले बताए । सत्रसयमा रहेको घाँसीकुवाको विकासको लागि स्थानीय र राज्यको ध्यानाकर्षण गराउनु सबै जुट्नुपर्ने व्यास नगर सभा सदस्य सुवास वाग्लेले बताए ।
सत्रसय टोल विकास संस्थाका अध्यक्ष मुक्तिकुमार गोशली, पत्रकार पूर्ण विके, दलित अगुवा टेकबहादुर विक (विवेक) लगायतले व्यास ७ मा रहेको घाँसीकुवाको वृहत्तर विकासको लािग सबै प्रतिवद्ध रहनुपर्नेमा जोड दिएका थिए ।