बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कारबाट शनिबार धनपति अधिकारी, प्रकाश चन्द्र भट्टराई र सानेबहादुर नेपाली सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारी, लोकवाणी दैनिकका सम्पादक भट्टराई, र जनचाहना खबरका सम्पादक नेपालीलाई पत्रकारितामार्फत उद्यमशीलता र स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो।
बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले चौथो वार्षिक साधारणसभाको अवसरमा आज केवलकारको बटम स्टेसनमा आयोजित कार्यक्रममा पत्रकारलाई सम्मान प्रदान गरेको हो ।
उनीहरूलाई जनही नगद रु. ५१,०००, प्रमाणपत्र तथा दोसल्ला ओढाएर प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले , प्रदेशसभा सदस्य हरिबहादुर चुमान र कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले संयुक्त रूपमा सम्मान गरेका थिए ।
कम्पनीले उद्यमशील विषयमा कलम चलाउँदै पर्यटन प्रवर्द्धनमा योगदान दिने पत्रकारहरूलाई प्रत्येक वर्ष साधारणसभाको अवसरमा सम्मान गर्दै आएको छ ।