तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर वितरण गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ राइपुर साना किसान कृषि सहकारीमा आबद्ध किसानलाई १८ थान मिनी टेलर वितरण गरिएको हो ।
साना व्यावसायिक कृषि उत्पादन केन्द्र (आलु पकेट) विकास कार्यक्रम अन्तरगत शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले किसानलाई मिनी टेलर वितरण गरे । किसानको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मिनी टेलर सहयोग गरिएको नगरप्रमुख पण्डितले बताए ।
अनुदान तथा सहुलियतमुखी कार्यक्रमले किसानलाई प्रोत्साहन मिल्ने र स्थानीय कृषि उत्पादनमा वृद्धि भई कृषि विकासमा टेवा पुग्ने विश्वास गरिएको पण्डितको भनाइ छ । यस्तै कृषि ज्ञान केन्द्र तनहुँले अनुदानमा किसानलाई कृषि सामग्री वितरण गरेको छ । केन्द्रले चालु आर्थिक वर्षको कार्यक्रमअनुसार भानु नगरपालिका–५ बारीफाँटस्थित समता कृषि सहकारी संस्थाका सदस्यलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको हो ।
मकै बीउ वितरण तथा मकै बीउ प्रवर्द्धन कार्यक्रमअन्तरगत हाते ट्याक्टर, मकै छोडाउने उपकरण लगायतका सामग्री वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । उनका अनुसार पाँच थान हाते ट्याक्टर, पाँच थान मकै छोडाउने उपकरण, पाँच थान स्प्रेयर वितरण गरिएको छ । त्यस्तै ८५ प्रतिशत अनुदानमा ९७ मिटर कुलो निर्माणका लागि पाइप, ७५ प्रतिशत अनुदानमा तीन सय रोपनीका लागि मकै बीउ वितरण गरिएको उनले बताए । सबै सामग्रीको मूल्य कूल रू सात लाख ३८ हजार रहेको उनको भनाइ छ ।
सहकारी संस्थामार्फत् मकैको बीउ सो वडाको ढाडखोला, डाडाँगाउँ, छ सय फाँट, देवीपानीटोल, देउराली टोलमा वितरण गरिएको छ ।