गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् उद्धार सम्बन्धमा सबै नागरिक जानकार रहनुपर्ने बताउनुभएको छ ।  तनहुँको बन्दीपुर गाउँपालिका–४, नयाँ पुलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २३ गण हेड क्वाटर मनकामना, तनहुँले गरेको गण्डकी प्रदेशस्तरीय विपत् प्रतिकार्य नमुना अभ्यासको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्रीले सो कुरा बताउनुभएको हो । 

गण्डकी प्रदेश प्राकृतिक विविधता र सौन्दर्यले जति भरिपूर्ण छ, यससँगै बहुप्रकोपीय जोखिमबाट पनि प्रभावित विपत्को सामना गरिहनु परेकाले सबै चनाखो हुन विपत् प्रतिकार्यसम्बन्धी ज्ञान हुन अनिवार्य रहेको उहाँले बताउनुभयो । समुदाय स्वयम्लाई सक्षम र सक्रिय बनाउन गरिएको यस्ता अभ्यासले विपत्को समयमा कसरी सुरक्षित रहने भन्ने जानकारी दिने भन्दै उहाँले विपत्का घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सक्रिय तयारी, समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । 

यस कार्यक्रम अन्तर्गत प्रशिक्षित  स्थानीयले ज्ञान आफैँमा मात्र सीमित नराखी विपत्को समयमा समुदायको उद्धारमा जुट्नुपर्ने उहाँको भनाइ थियो । विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रूपमा आर्थिक स्रोतको पनि सुनिश्चत गर्दै आएकाले प्रदेशस्तरमा १० करोड नघट्ने गरी र जिल्लास्तरमा १० लाख नघट्ने गरी विपत् व्यवस्थापन कोष सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

विपत्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरण सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामग्री सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको उहाँले बताउनुभयो ।