बन्दीपुर गाउँपालिकाको आर्थिक बर्ष २०८१।८२ को दोश्रो चौमासिकको प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएकोे छ । कार्यक्रम बन्दीपुर गाउँपालिकाको आयोजना तथा मध्य नेपाल ब्रोडकास्टिङको सहजिकरणमा भएको थियो । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पन्चमायाँ गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् । सो कार्यक्रमको गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङ ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य बिभिन्न राजनितिकदलका प्रतिनिधि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि प्रहरी गाउँवासी समाजसेवी शिक्षासेवी, पत्रकार, जेष्ठ नागरिक समाज, सर्वसाधारण रहेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा यस चालु आर्थिक बर्षको प्रगती बिबरण गाउँपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको तर्फबाट बार्षिक कार्यप्रगती प्रमुख प्रशासकिय अधिकृत यादवराज आचार्यले गरेका थिए । यस्तै विशेष गरि गाउँवासीहरुले शिक्षा स्वास्थ्य सडक निमार्ण, विधुत, खानेपानी, भवन निर्माण, सेवा प्रवाह लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोज्दै जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिको विभिन्न समस्याहरू र त्यसका समाधानका उपायहरूबारे गाउँपालिका अध्यक्ष थापा सहित प्रमुख प्रशासकीय अधिकृत आचार्य र सम्बन्धित शाखाका प्रमुखहरूले उत्तर दिएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आचार्यले गाउँपालिकामा रहेका समस्या र चुनौतिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए। उनले समस्याहरूको समाधानका लागि सरकारको आगामी योजनाहरू र प्रयासहरूको चर्चा गरे। यस अवसरमा, सम्बन्धित शाखाका प्रमुखहरूले पनि उठेका सवालहरूको जवाफ दिएका थिए।

बन्दीपुर अस्पतालको सेवा प्रवाहका बारेमा एक विशेष प्रस्तुति दिइएको थियो। अस्पतालका प्रमुख डा। अनिल गिरीले अस्पतालमा भइरहेका सेवाहरू आगामी दिनमा गरिने सुधारको बिषयमा उपस्थितलाई जानकारी दिए। उनले अस्पतालको कार्यक्षमता र सेवाको गुणस्तरमा सुधार ल्याउनका लागि गरिएका प्रयासहरूको पनि उल्लेख गरे।
उक्त कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका सुझावहरुलाई ग्रहण गर्दै गाउँपालिकाको कामलाई अझ प्रभावकारी बनाइने बताए । बन्दीपुरलाई पर्यटन, कृषि तथा पुर्वाधारको माध्यमबाट समृद्धी बनाउने आफुहरुको लक्ष्य रहेको भन्दै अध्यक्ष थापाले सबै जनप्रतिनिधि, राजनीतिक दल तथा सबै गाउँपालिकाबासीको सहयोगमा उक्त लक्ष्य हासिल गरिने बताए ।

नेपाली काँग्रेसका सभापती कर्णबहादुर खत्री, नेकपा एमालेका अध्यक्ष रवि श्रेष्ठ, नेकपा माओवादी केन्द्रका लोकबहादुर बानियाँ, समाजसेवी घनश्याम श्रेष्ठ, दलित संघका केन्द्रीय सदस्य रामकृष्ण विक, बुद्धिजिवि प्रेम अधिकारी, उद्योग बाणिज्ज संघ बन्दीपुर इकाइका सभापती घनश्याम उपाध्याय, पर्यटन बिकाश समितिका अध्यक्ष किसन प्रधान, होटल संघको निवर्तमान अध्यक्ष संगिता प्रधान लगायतले विभिन्न विषयमा जिज्ञासा, सुझाव, टिप्पणीहरु राखेका थिए ।

गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले कार्यक्रमको समापनमा सबैको सक्रिय सहभागिताको लागि धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष थापाले सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिको समृद्धिको लागि सबै एकजुट भएर लाग्नु पर्ने जोड दिएका थिए।